वैद्यको माओवादी गठबन्धनबाट अलगिए नौं दल

९ असार, काठमाण्डौं । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनविरुद्ध आन्दोलनरत नेकपा–माओवादी नेतृत्वको गठबन्धनबाट नौ दल अलग भएका छन् । निर्वाचनमा सहभागी हुने कि भाँड्ने भन्ने विवादले उपेन्द्र यादव नेतृत्वको नौ दलले गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको चुनावविरोधी मोर्चाबाट मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी अलग भएका हुन् । सरकारले निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध नेपाल बन्दको आयोजना गर्दा निर्माण भएको ४२ दलीय गठबन्धन एक सातापछि नै अलग भएको हो ।
‘हाम्रा माग र एजेन्डालाई सरकारले सम्बोधन गरोस् भनेर दबाब दिन हामीले सँगै आन्दोलनका कार्यक्रम गरेका हौं,’ मधेसी जनअधिकार फोरमका प्रवक्ता अर्जुन थापाले भने, ‘हाम्रो उद्देश्य निर्वाचनमा भाग नलिने वा निर्वाचन भाँड्ने होइन, त्यसैले वैद्य माओवादी नेतृत्वको मोर्चाबाट हामी अलग भएका छौं ।’ मोर्चाआबद्ध दलका केही माग सरकारले पूरा गरे पनि केही माग पूरा नगरेकाले दबाबका लागि आन्दोलन गरेको भए पनि निर्वाचनमा भाग नलिने मोर्चाको उद्देश्य नभएको थापाले प्रस्ट पारे ।
 उनका अनुसार वैद्य माओवादीले निर्वाचनमा सहभागी हुने भन्दा भाँड्ने मात्रै कुरा गर्न थालेकाले सँगै अघि जान सक्ने अवस्था नभई अलग भएको हो । थापाले सरकारले थ्रेसहोल्ड हटाएको, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको, २०६३ सालको मतदाता नामावलीका आधारमा मतदाता नामावली अद्यावधिक गराइने र मतदाता नामावली संकलन तथा नागरिकता वितरण टोली सँगसँगै लैजानेजस्ता माग पूरा गराएकाले केही माग पूरा गर्नासाथ निर्वाचनको माहोल बन्ने मोर्चाको निष्कर्ष रहेको बताए । उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले समानुपातिक निर्वाचन प्रणालीद्वारा प्रतिनिधित्वको संख्या ६० प्रतिशत पु¥याउनुपर्ने, मन्त्रिपरिषद् अध्यक्ष सर्वोच्च अदालत नफर्कने र चार दलीय उच्चस्तरीय समिति भंग गर्ने माग पूरा हुनुपर्ने अडान पनि राखेको छ । त्यो हुनासाथ निर्वाचनको पक्षमा मोर्चाआबद्ध दल लाग्ने थापाले जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।
नेकपा–माओवादीले निर्वाचनलाई नै असर गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम ल्याउने प्रस्ताव गरेपछि संघीय लोकतान्त्रिक मोर्चाआबद्ध दल र संघीय समाजवादी पार्टीले अलग भएको घोषणा गरेका हुन् । उनीहरूले आ–आफ्नै ढंगले माग पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने जनाउँदै ४२ दलको मोर्चाबाट अलग हुने बताएका हुन् ।
संघीय लोकतान्त्रिक मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, ताम्सालिङ राष्ट्रिय पार्टीलगायत आठ दल संलग्न छन् । सुरुमा वर्तमान सरकारविरुद्ध आन्दोलनमा रहेका नेकपा–माओवादीसहितका ३३ दलमध्ये १८ दल पनि अलग भइसकेका छन् । चुनावकै विषयमा विवाद भएपछि सरकारविरोधी मोर्चामा सहभागी ३३ दलमध्ये १८ दल अलग भएका हुन् ।
नेकपा मालेका महासचिव सीपी मैनालीका अनुसार मोर्चाबाट अलग हुने दलहरू विगतको संविधानसभामा प्रतिनिधित्व नभएका साना दल हुन् । मैनालीका अनुसार अलग हुनेमा आफ्नो पार्टीबाट अलग भएका माले समाजवादीका नेता जगतबहादुर बोगटीसहित निर्वाचन आयोगमा हालै मात्र दर्ता भएका दल हुन् । सरकारविरोधी आन्दोलनमा ३३ दलको नेतृत्व गर्दै आएको नेकपा–माओवादीबाट बोगटीसहितका १८ दल अलग भएपछि सो मोर्चामा अब १५ दल मात्र बाँकी छन् ।
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.