आजको नेपाल बन्द फिर्ता, खुलामञ्चमा आमसभा हुने (विज्ञप्तिसहित)
३० वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका ३३ दलले आज सोमबारका लागि आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । आइतबार संखमूलमा बसेको ३३ दलको बैठकले नेपाल बन्दको साटो आगामी जेठ १४ गते खुल्लामञ्चमा आमसभा गर्ने निर्णय गरेको छ ।
सोमबार नेपाल बन्द गर्ने भनिएकोमा नेवार समुदायको मच्छिन्द्रनाथको रथ जात्रा परेका फिर्ता लिइएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरलाई जानकारी दिनुभयो । आइतबार बसेको ३३ दलको बैठकपछि औपचारिकरुपमै विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । सामेबारको बन्द फिर्ता लिएर अर्को दिनलाई सारिएको नभई अन्य संघर्षका कार्यक्रम मात्रै घोषणा गरिएका छन् ।
लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा ३३ दलले सोमबार नेपाल बन्दको आहृवान गरेका थिए । आइतबार राजधानीमा बसेको ३३ दलको बैठकले सोमबार मच्छिन्द्रनाथको रथ यात्रा परेकाले बन्द फिर्ता लिने निर्णय गरेको हो । तेत्तीस दलको आगामी संघर्षको कार्यक्रमअन्तरगत मंगलबार बिहान ९ देखि ११ बजेसम्म लोकमानसिंह कार्कीको नियक्तिको विरोधमा अख्तियारको कार्यालयमा धर्ना दिने देव गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी जेठ १ गते मेचीकाली अभियान अन्तरगत जिल्ला सदरमुकामहरुमा सभा गर्ने, आप्रवासीलाई नागरिकता नदिलाउन खबरदारी गर्ने तथा जेठ १४ गते खुल्लामञ्चमा सभा गर्ने जनाइएको छ ।
विज्ञप्ति हेर्नुस्
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses