स्ववियु निर्वाचन स्थगनको विरोधमा मविव क्याम्पसमा तोडफोड

राजविराज- मधेसी विद्यार्थी फोरम नेपाल तथा सद्‍भावना पार्टी निकटको विद्यार्थी मञ्चले बिहीबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा तोडफोड गरेका छन्। स्ववियु निर्वाचनका लागि दलबलका साथ नामांकन फारम दर्ता गराउन गएका दुवै संगठनका विद्यार्थीले स्ववियु निर्वाचन स्थगित भएको जानकारी पाएपछि आक्रोशित भएर क्याम्पसमा तोडफोड गरेका हुन्। 
क्याम्पसको मुख्यद्वारासहित दुई वटा फलामे ढोकालाई तोडेर क्याम्पस परिसरमा प्रवेशका गरेका विद्यार्थीले क्याम्पसका निर्वाचन कार्यालयसहित तीनटा कोठा व्यापक तोडफोड गरेका छन्। उनीहरुले निर्वाचन कार्यालयमा रहेका फर्निचरलगायत सामान तोडफोड गरेर क्षति पुर्‍याएका छन्। 


तोडफोडबाट झण्डै दश लाखभन्दा बढीको क्षति भएको बताइएको छ। आक्रोशित विद्यार्थीले झण्डै ५० भन्दा बढी बेन्च डेस्क भाँचिदिएका छन्। विद्यार्थी फोरम नेपाल सप्तरीका अध्यक्ष तारकेश्वर यादवको नेतृत्वमा गएको विद्यार्थीको टोलीले स्ववियु निर्वाचन स्थगनको विरोध गर्दै तोडफोड गर्न लागेपछि त्यही रहेका विद्यार्थी मञ्चका नेता तथा कार्यकर्ताले समेत उनीहरुलाई सघाएका थिए। 

क्याम्पस परिसरमा नेपाल तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेपनि कुनै पनि सुरक्षा निकायले विद्यार्थीलाई रोक्ने प्रयास गरेनन्। आक्रोशित विद्यार्थीले त्रिभुवन विश्वविद्यालय तथा मविवि क्याम्पस प्रशासनविरुद्ध समेत चर्को नाराबाजी गरेका थिए। 

यसैबीच विद्यार्थी फोरम तथा मञ्चले क्याम्पसमा गरेको तोडफोडविरुद्ध नेकपामाओवादी निकटका अखिल क्रान्तिकारीले राजविराजको मुख्य सडकस्थित जनआन्दोलन चोकमा एक घण्टा चक्का जाम गरेका छन्। स्ववियु निर्वाचन भाड्न नियोजितरुपमा क्याम्पसको निर्वाचन शाखा लगायतका ठाउँमा तोडफोड गरिएको भन्दै उनीहरुले चक्का जाम गरेका हुन्। केन्द्रीय सदस्य मकसुदन यादवको नेतृत्वमा सयौको संख्यामा रहेका क्रान्तिकारीका विद्यार्थीले सडक भएर जाने साइकलरिक्सा समेतलाई आवात जावतमा रोक लगाएका थिए। 

0 comments

Write Down Your Responses

Powered by Blogger.