२ करोड धरौटी नबुझाएपछि ‘डन’ परशुराम जेल चलान

काठमाडौं । विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौटी मागेको छ । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जगन्नाथ देवल जेल चलान गरिएको छ । बस्नेत र उनकी श्रीमती सोमबार अदालतमा उपस्थित भएपछि अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यहरु मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासमा पेश गरिएको थियो । ‘परशुरामसँग २ करोड धरौटी माग गरिएको थियो । तर, बुझाउन सकेनन’ अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरसँग भन्नुभयो-’जाहेजेथा धरौटी राख्न निवेदन आएको छ । उनलाई आज भने जेल चलान गरिएको छ ।’ इजलासले परशुरामकी उनकी श्रीमती अञ्जु सिंह बस्नेतलाई भने साधारण तारेखमा रिहा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनविरुद्ध जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी ओली निकट युवा संघका नेता बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावी गरिएको छ । साथै परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, शेयर, सवारी साधान र घरजग्गा जफत गर्न माग गरिएको छ । फोरम लोकतान्त्रिकका नेता समेत रहेका डन गणेश लामा, दिपक मनाङ्गे र अभिषेक गिरी फरार छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार कारागारमा छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.