ट्राभलका नाममा म्यानपावर धन्दा चलाई अर्बौ कमाउनेहरु जेलको हावा खाँदै
९ साउन, काठमाण्डौ । नेपालमा खुवै फष्टाएको धन्दाका रुपमा चिनिएको म्यानपावर ब्यबसायबाट अबैध रुपमा अरबौं रुपैयाँ कमाउने म्यानपावर संचालकहरु प्रहरीको फन्दामा परेका छन् ।
४० हजार बढि नेपालीलाई बिदेश पठाएर अरबौं कमाउने करिव एक जर्दन म्यानपावर र ट्राभल ब्यबसायीहरु अहिले १५ बर्षसम्म जेल सजायँको पखाईमा छन् ।
अन्तराष्ट्रिय बिमानस्थल प्रवेशद्वार नजिकै रहेको किंग अकवर ट्राभलले गैरकानुनीरुपले ४० हजार महिलालाई बिदेश पठाएको आरोपमा यसका संचालक कारवाहीमा परेका छन् । ट्राभल एजेन्सी खोलेर म्यानपावर धन्दा गर्दै आएका यसका संचालकले हरेक महिलासँग कम्तीमा डेढ लाख र बढिमा अढाई लाख लिएर खाडी मुलुक पठाएको प्रमाण केन्द्रीय अनुसन्धान ब्युरोले भेट्टाएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
ट्राभलले म्यानपावरमार्फत् राजश्व ठगी गर्नुका साथै अपरदर्शीरुपले बिदेशिने नेपालीसँग लाखौं लिएको देखिएकाले प्रतिब्यक्ति कम्तीमा पनि एक लाख नाफा लिएको हुनसक्ने ब्युरो श्रोतले जनाएको छ । यस हिसावले हेर्ने हो ४० हजार नेपालीलाई बिदेश पठाउँदा किङ अकवरले ४ अर्ब रुपैयाँ नाफामात्रै कमाएको छ । अहिले यसका संचालक केन्द्रीय अनुसन्धान ब्युरो र बैदेशिक रोजगार बिभागको कारवाही प्रकृयामा छन । संचालक बिनोद केसी कमाएको पैसाबाट जस्तोसुकै पाप पखाल्न सकिने बिश्वासमा देखिन्छन् ।
यसैगरी न्यू वल्र्ड म्यानपावरका पुष्प केटी बेचबिखनको उजुरी परेपछि भर्खरै हिरासतबाट १५ दिनको लागि तारेखमा छुटेका छन् । उनी दिनको एक लाख बेहोर्ने गरी १५ दिने तारेखमा बाहिरिएको ब्युरो स्रोतको दावी छ । उता २० हजार भन्दा बढि नेपालीलाई बिदेश पठाइसकेको सप्तकोसी म्यानपवारका भण्डारी थरका संचालकले नेपाली युवतीलाई ओमान पुर्याई बेश्याबृत्तिमा लगाएको उजुरी परेको छ । भण्डारी बिदेशतिरै बरालिएपछि सप्तकोसीकै लिम्बु थरका अर्का संचालक प्रहरी खोरमा लामखुट्टेसँग जुधिरहेका छन् ।
यसका साथै फेलिसिटी ट्राभल, एयर हिमालय ट्राभल, एनसिएफ म्यानपावर, सत्यम म्यानपावरका संचालक पनि कारवाही प्रकृयामा रहेका छन् । फेलिसिटी र एयर हिमालयले ट्राभल एजवेन्सीका नाममा हजारौंलाई इराक पुर्याएको छ । न्यू वल्र्ड म्यानपावरका पुष्प र सत्यमका संचालकविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा केटी बेचबिखन, राजश्व छली र बिभागका कागजपत्र, छाप र हस्ताक्षर नक्कली बनाएको अभियोगमा मुद्दा चलिरहेको छ । सागर म्यानपावरले भने बैदेशिक रोजगार बिभागबाट पूर्व र अन्तिम स्वीकृति नलिइ हजारौं मानिसलाई बिदेश उडाएर करोडजति राजश्व ठगेको र कानुन उल्लंघन गरेको छ ।
0 comments
Write Down Your Responses