'म प्रधानमन्त्री भए ज्ञानेन्द्रलाई जेल हाल्थें'
काठमाडौ, श्रावण ९ - एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिगमन फर्काउन चलखेल गरेको भन्दै उनलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले आफू प्रधानमन्त्री भएको भए जेल हाल्ने दाबीसमेत गरे ।
सुदूरपश्चिममा बाढीपीडितलाई राहत बाँड्न पुगेका पूर्वराजा शाहको गतिविधि गम्भीर भएको भन्दै भट्टराईले जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला जेल हाल्ने तयारी गरेको दाबीसमेत गरे ।
'सबै नेता विदेशी दलाल हुन् भनेर फेरि राजा चाहियो भन्ने प्रयत्न भएको छ । ज्ञानेन्द्रले त्यत्तिकै नाटक गरेका छैनन् । म प्रधानमन्त्री भए जेल हाल्दिन्थें । म उनलाई घुम्न पनि दिने थिइनँ,' उनले आफ्नो निवास सानेपामा संवाददाताहरूसँग भने, 'मेरो त्यतिसम्म आँट थियो । नागार्जुनबाट ल्याएर जेल राखिदिन्छु भन्ने निर्णय पनि गर्न लागेको थिएँ । फेरि अरूलाई पनि मिलाएर जानुपर्यो, कांग्रेस, एमाले बल्ल-बल्ल गणतन्त्रमा आएकाले बढी गर्यो भन्लान् भनेर रोकिएको हो ।'
उनले २०४७ सालको संविधन ब्युँताउन पूर्वराजा लागिपरेको दाबी गरे । 'मन्दिर-मन्दिर वर्षाका बेलामा उनी राजनीति गर्न हिँडेका हुन् । उनले २०४७ सालको संविधान ब्युँताउन करोडौं रुपैयाँ बाँडिरहेका छन्,' उनले भने, 'महाकालीका बाढीपीडितलाई राहत दिन अहिले उनका आँसु आए । त्यत्रो वर्ष बाबुबराजुले देशलाई बर्बाद पारे, त्यो कसले तिर्छ ? अहिले उनले बडो जनताको पक्षमा गोहीका आँसु झारेर सीधै राजनीति गरेका छन् ।'
पूर्वप्रधानमन्त्री भट्टराईले राजतन्त्र फर्काउन पूर्वराजाले विभिन्न शक्तिकेन्द्रमा दूत परिचालन गरेको सूचना प्राप्त भएको जनाए । 'विभिन्न शक्तिकेन्द्रमा दूतमार्फत म फिर्ता पाउन पाऊँ हजुर भन्दै बिन्तीपत्र हालिरहेका छन्,' उनले आक्रोशित हुँदै भने, 'राजा राष्ट्रवादी हो र दलहरू, अझ हामी माओवादी विदेशी दलाल भन्ने प्रचार दुर्भाग्यपूर्ण र गम्भीर छ ।'
पूर्वराजाका गतिविधिलाई भन्डाफोर गर्न जरुरी रहेको उनको भनाइ थियो । 'ज्ञानेन्द्रको मुभ गम्भीर छ । गम्भीर छन् । उनको क्रियाकलाप र उनका मान्छेले जे गतिविधि गरिरहेका छन्,' उनले भने, 'भन्डाफोर गर्न जरुरी छ । भन्डाफोर गरिएन भने जनतालाई भ्रमित पारेर प्रतिक्रान्तिको आधार तयार पार्ने काम हुन्छ ।'
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले राष्ट्रियताको मुद्दामा राजावादीसँग एकता गर्न सकिने अभिव्यक्ति दिनु अनौठो भएको उनले बताए । 'क्रान्तिकारी कित्ताका साथीहरूले राजा राष्ट्रवादी हुन् भन्ने कुराले मुलुकलाई कहाँ पुर्याउँछ ?,' उनले भने । उनले अध्यक्ष दाहालको एकल नेतृत्व नभएको पनि बताए ।
0 comments
Write Down Your Responses