चुनावी रन्कोले दलका नेताहरुबीच भनाभन

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


मकवानपुर - दलका नेताहरु आउँछन्, विषयमा प्रवेश गर्छन्, आ-आफ्ना भनाइ राख्छन्, प्रमुख जिल्ला अधिकारीले धन्यवाद दिन्छन् र बैठक समापन हुन्छ। प्रमुख जिल्ला अधिकारीले बोलाउने सर्वदलीय बैठकमा यस्तै हुन्छ तर चुनाव लागेका र चुनाव बिथोल्नुपर्छ भन्ने दलहरुबीच भनाभन भइराख्दा बिहीबार हेटौंडामा बैठक रमितामा परिणत हुन पुगेको छ। सौहार्दपूर्ण हुने सर्वदलीय बैठकमा सम्मानसाथ हुने व्यवहार फेरिएको छ। आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल र प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठले असान्दर्भिक नबोल्न र बाहिर गएर छलफल गर्न चेतावनी दिनुपर्योी। चुनाव बिथोल्न तयारीसाथ बसेको बैद्यपक्षीय नेकपा–माओवादीका नेताले आफ्नो धारणा राख्दा गालीगलौजमा उत्रिएको भन्दै अन्य दुई दलका तीन नेता खनिएपछि बैठकस्थल तनावपूर्ण बन्यो। बैठकका अध्यक्षता गरिरहेका प्रजिअ एकनारायण अर्यालले 'हामी बाहिर गइदिन्छौं, तपाईँहरु विवाद गर्नुहोला।' भनेपछि विवाद कम भएको थियो। मकवानपुरलाई अन्यत्र दलीयरुपमा मतैक्यता भएको जिल्लाको रुपमा उदाहरण दिने गरिन्छ। कार्यक्रमहरुमा पनि एकै नेताले सबैका तर्फबाट बोलेर 'लालसलाम–जयनेपाल–नमस्कार' भनेर टुङ्ग्याउने गर्छन् तर यसपटक चुनावको रन्कोले एकले अर्कोलाई मन पराउन मात्र छाडेका छैनन्। वादविाद, झैझगडा र हानाहान गर्न थालेका छन्। केही समयअघि जिल्ला परिषद्को योजना बनाउन लाग्दा पनि कुरा नमिलेपछि एमालेका एक नेताले राप्रपाका नेतालाई धकेलेर लगाइदिएका थिए। जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती सेवा सञ्चालनका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा आफ्नो पालो आएपछि नेकपा–माओवादीका सेक्रेटरी इन्द्रवहादुर परियार नयनले बोल्न थाले। उनले विदेशीको दलाली गर्न चुनावको नाटक मञ्चन हुन लागेको भन्दै जुनसुकै ठाउँमा बिथोलिदिने चेतावनी दिए। चारदलीय गठबन्धन विदेशी इसारामा चुनावको नाममा गद्दारी गर्न लागेको बताउँदा अन्य दलका नेता आक्रोशित भए।। परियारले मतदाता नामावली संकलनका विषयमा बोल्दाबोल्दै एमाओवादी र एमालेलाई जोडेर गाली गरेका थिए। एकीकृत माओवादी, एमाले र कांग्रेसलाई यथास्थितिवादी, नवशंसोधनवादी विदेशी दलाल र गद्दार जस्ता शब्द प्रयोग गरेरे बोल्न थालेपछि पूर्वसभासद तथा एकीकृत माओवादीका नेता प्रल्हाद लामछिानेले बीचैमा प्रतिवाद गरे। 'दुईमन्त्री नपाएर पार्टी फुटाउनेले ठुलाकुरा गर्नु पर्दैन।' उनले भने, 'आफूले गरेको काम राष्ट्रवादी, अरुले गरेको राष्ट्रघाती हुन्छ?' पूर्वसभासद लामिछाने रोकिनासाथ पूर्वसांसद तथा एमालेका नेता कृष्णप्रसाद दाहालले पनि प्रतिवाद गरे। 'तपाईँको पार्टी प्रशिक्षणमा आएका होइनौ, कहाँ के बोल्नुपर्ने, कुन विषयमा के भन्नुपर्ने हेक्का राख्नुस्।' लगत्तै एमाले मकवानपुरका अध्यक्ष रामेश्व रानाले थपे, 'सैद्धान्तिक बहस नउठाऔँ साथी, हामी पनि राजनीतिक विचारधारा, आदर्श र सिद्धान्त पढेर राजनीतिमा आएका हौं। घण्टौ सिद्धान्तको बहस गर्न सक्छौं। तर कुन बैठकमा छौं र के बोल्नुपर्छ आफैँले बुझ्ने कुरा हो।' दलका नेताहरुको रमिता हेरिरहेका मकवानपुरका प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठले सर्वदलीय बैठकमा राजनीतिक विवाद गर्नै भए आफूहरु तमासा हेरेर बस्नुभन्दा बाहिर गइदिने बताए। उनले माफी मागेरै भने, 'हुनत बर्दी लगाएर यस्तो कुरा गर्न मिल्दैनथ्यो। तैपनि भन्नैपर्ने भएको छ। 'मतदाता नामावली हाम्रो लागि होइन, चुनाव तपाइँहरु नै लड्ने हो।' ' सिडियोसा'ब र म चुनाव लड्ने होइन,' उनले थपे, ' सक्नुहुन्छ भने जिल्ला प्रशासनमा रोकेर देखाउनेस्, यहाँ आएका विकटकाले पाउने, विकटमा गएर नामावली संकलनमा किन अवरोध गर्ने?' छलफललाई सहजीकरण गर्दै प्रजिअ अर्यालले भने, 'म पनि राजनीतिक शास्त्रको विद्यार्थी हुँ राजनीति बुझ्छु, तपाईँहरुको यो जिल्ला त राजनीतिक संस्कार भएको जिल्ला हो। त्यसो नगरौं। प्रशासनमा आउँदा राजनीतिक विमर्श नगरौं'। छलफलले आगामी २७ गतेबाट जिल्लाका ४ स्थानमा एकीकृत घुम्तीसेवा सञ्चालन गर्ने निर्णय गरेको छ। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.