नक्कली बुवा बनेर १२ जनालाई नागरिकता
परासी, जेष्ठ २७ - स्थानीय एक व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाएको खुलासा भएको छ । प्रशासन कर्मचारीको मिलमतोमा सनई गाविसमा जग्गा रहेका सरफुद्दिन मुसलमानले ती सबैलाई छोरा उल्लेख गर्दैर् नागरिकता दिलाएका हुन् । उनले त्यसरी १७ व्यक्तिलाई छोरा बनाएर नागरिकता दिलाएको आरोप भए पनि अहिलेसम्म १२ व्यक्ति मात्र फेला परेका छन् ।
गाविस सचिव गोकुल गिरीले नक्कली कागजात बनाएर नागरिकता लिएको उजुरी हालेपछि गरिएको अनुसन्धानबाट मुसलमानलाई नक्कली बाबु बनाएर नागरिकता लिनेको संख्या १२ पुगेको देखिएको जिल्ला प्रशासनले जनाएको छ । खुलासापछि उनीहरूविरुद्ध अदालतमा मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता खडकबहादुर खड्काले बताए ।
झन्डै डेढ दर्जनलाई नक्कली छोरा बनाएर नागरिकता दिलाउने मुसलमानले रूपन्देहीको टिकुलीगढबाट सनई-७ मा बसाइँसराइ गरेको ठेगानामा उल्लेख गरेका छन् । उनले २०६७ असार ३१ मा बसाइँसराइ गरेको कागजपत्र पेस गरेका छन् । किर्ते तरिकाले उनलाई बाबु देखाएर नागरिकता लिनेमा मुस्ताक अलि, असफाक, राजु, सलाउद्दिन र अब्दुलकलाम मुसलमानलगायत छन् । जारी नागरिकतामा प्रशासकीय अधिकृत ओमप्रकाश पाण्डेको हस्ताक्षर छ । पछिल्लो पटक छोरा बनेर नागरिकता लिनेमा युनुस, मोहम्मद र मनि मुसलमान छन् । प्रमाण जुटाउने क्रममा छोरा बनेर नागरिकता लिनेको संख्या १७ पुग्ने संकेत देखिएको खड्काले बताए ।
गैरनागरिकलाई नागरिकता दिने कर्मचारीमाथि कारबाही त भएको छैन नै, उजुरी गर्ने गाविस सचिव गिरीमाथि पनि अदालतमा मुद्दा चलिरहेको छ । उजुरीपछि प्रशासकीय अधिकृत यमबहादुर कुँवरलाई छानबिनको जिम्मेवारी दिइएको थियो । कुँवरको प्रतिवेदनमा नागरिकतासम्बन्धी पेस भएका कागजपत्रलाई कर्मचारीले गम्भीरताका साथ नहेरेको र गाविस सचिवको हस्ताक्षर दस्तखतको नमुना नागरिकता फाँटमा हुँदाहुँदैसमेत त्यसलाई समेत जाँच नगर्दा नागरिकता लिन सफल भएको उल्लेख छ ।
नागरिकतामा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृत पाण्डेले कागजी प्रक्रिया पुर्याई नागरिकता दिलाउने गिरोह रहेकाले आफूले गाविस सचिव गिरीलाई त्यस्ता गिरोहको पर्दाफास गर्न उजुरी हाल्न लगाएको जनाए ।
उनले गिरोह फेला परेमा बढी संख्यामा गैरनागरिकले नागरिकता लिइएको खुल्ने दाबी गरे ।
नक्कली सिफारिस आधारमा सरफुद्दिनले अरूलाई पनि नागरिकता दिलाएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रजिअ केशवराज घिमिरेले बताए ।
|
0 comments
Write Down Your Responses