भ्यागुताको दाम ३० रुपैयाँ !
२७ जेठ, विराटनगर । विराटनगरमा विज्ञान  पढाइ हुने क्याम्पसका प्रयोगशाला गत बर्ष भ्यागुतो अभावमा प्रभावित भए ।  तीन चारजना विद्यार्थीले एउटै भ्यागुतो चिरफार गर्नुपर्यो । नियमअनुसार एक  विद्यार्थीले बर्षभरिमा ६ वटा भ्यागुतो अनिवार्य रुपमा चिरफार गर्नुपर्छ ।  तर विगत केही बर्षयता तराईका जिल्लामा भ्यागुतो अभाव हुन थालेपछि यसको  मुल्य आकासिएको छ ।
अब  तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने  भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि  अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव होला । तर एउटा भ्यागुतोको  अधिकतम मूल्य ३० रुपैयाँ पुगेकोमा पनि उनीहरु सबैको सहमति छ ।‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका  प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको  मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत  उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने  अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे  अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो  सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय  प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास  हुँदै गएको उनीहरुको बुझाइ छ ।


0 comments
Write Down Your Responses