बहिस्कार अभियानका लागि माओवादीद्वारा देशव्यापी प्रशिक्षण

५ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समिति र नेपाल सरकारले वार्ताका लागि आह्वान गरिरहेका बेला साउन १० गतेबाट धक्का दिने गरी चुनाव बहिस्कार आन्दोलन थाल्ने तयारीमा रहेको नेकपा-माओवादीका शीर्ष नेताहरु भने यतिबेला देशव्यापी प्रशिक्षणमा व्यस्त छन् ।

बहिस्कार आन्दोलनलाई सफल बनाउने प्रशिक्षणका लागि माओवादी अध्यक्ष मोहन बैद्य किरण र महासचिव बादल मधेस जानुभएको छ भने उपाध्यक्ष सीपी गजुरेल पश्चिम र सचिव नेत्रविक्रम चन्द विप्लव पूर्वमा हुनुहुन्छ । ‘धक्का दिने गरी चुनाव बहिस्कार आन्दोलन सुरु गर्ने तयारीका साथ प्रशिक्षणहरु भइरहेको छ’ एक नेताले अनलाइनखबरसँग भने-’शीर्ष नेताहरुको उपस्थितिमा राज्य समितिहरुको प्रशिक्षण भइरहेको छ ।’

स्रोतका अनुसार माओवादीले पोलिटब्यूरोसम्मका नेताहरुलाई प्रशिक्षणका लागि देशभर खटाएको छ । प्रशिक्षणका क्रममा नेताहरुले चुनाव बहिस्कार गर्ने पोखरा बैठकको निर्णयबारे जानकारी गराउनुका साथै साउन १० गतेबाट सुरु हुने चुनाव बहिस्कार आन्दोलनको रणनीतिबारे प्रशिक्षण दिनेछन् । नेताहरुका अनुसार १० गते देशभर विरोधसभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु हुनेछ ।

आन्दोलनसँगै वार्तालाई समेत एकसाथ लैजाने नीति लिएको माओवादीको पहिलो चरणको आन्दोलन बढी प्रचारात्मक आन्दोलन हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.