बोतल बेचेर नेपाली बालबालिकालाई सहयोग

Bottle COllection
कोपनहेगन (डेनमार्क), भाद्र २९ - यहाँ रहेका नेपालीले बोतल बेचेर संकलित रकम नेपालमा अध्ययरत विपन्न विद्यार्थीलाई सहयोग पठाएका छन् । विभिन्न प्रकृतिका पेयपदार्थ प्रयोग गरी फालिएका खाली बोलत संकलन गरी बेचिएको २३ हजार डेनिस क्रोनर (करिब ३ लाख ६८ हजार रुपैयाँ) सहयोग पठाएका हुन् । उक्त रकम नेपालका बिभिन्न स्थानमा प्राथमिक तहमा अध्ययन गरिरहेका ४५ जना विपन्न बिद्यार्थीलाई पोशाक र अध्ययन सामाग्री उपलब्ध गराई सहयोग गरिएको हो । नेपालका विपन्न विद्यार्थीलाई सहयोगार्थ 'पिउनुहोस् तर बोतल हामीलाई दिनुहोस्' नारासहित बोतल संकलनमा जुटेको 'अभियान नेपाल'ले उक्त रकम पठाएको हो । 'सहयोगका लागि रकम माग्नुभन्दा घरमा ल्याइने पेय पदार्थका खाली बोतल जम्मा गरौ भनेर सुरु गरेका हो', सोचे भन्दा बढी सहयोग जम्मा भएको जनाउँदै अभियान नेपालका अध्यक्ष कमल पोखरेलले भने,'यो रकम गरिब बिद्यार्थीका लागि सहयोग गर्दै जाने छौ ।' संकलित प्रति बोतल एक डेनिस क्रोनरदेखि तीन क्रोनरसम्ममा बिक्री हुन्छ । स्वस्फूर्त बोतल संकलन गरिएको अभियानमा कसैले बोतल लिन बोलाउँछन् भने कसैले आफै बेचेर बिलसहितको रकम दिने गर्छन् । हाल दिनहुँ जसो बोतल बेचेर रकम जम्मा भइरहेको छ । बोतल दिने तथा बोतल बेचेर रकम दिने सहयोगीहरुको नाम, फोटो र नेपालमा सहयोग पाउनेहरुको नाम, फोटोसहितको विवरण समेत सार्बजनिक गरिएको छ । अहिलेसम्म नेपालीले आफ्नो घरमा प्रयोग गरेका र अरुले प्रयोग गरी फालिएको बोलत संकलन गरिएको अभियानमा केही डेनिसहरुले पनि बोतल दिन थालेका छन् । नेपालीले गर्ने विभिन्न कार्यक्रमहरुमा समेत बोतल संकलन गर्न बोतल पेटिका राख्ने गरिएको छ । एकमुष्ठ रकम जम्मा भएपछि डेनमार्कमा रहेका नेपालीहरुमाझ सहयोग गर्नु पर्ने बालबालिकाहरुको विवरण आहृवान गरिन्छ । सम्पूर्ण विवरणसहित आएको विपन्न व्यक्तिलाई सहयोग गरिएको छ । सहयोगलाई निरन्तरता दिन बोलत संकलन समेत भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.