समाचार
»
धरौटीमा छुटेका असई अख्तियारको हिरासतमा
धरौटीमा छुटेका असई अख्तियारको हिरासतमा
काठमाडौं - दुई व्यापारीको अपहरण गरी रकम असुलेको अभियोगमा धरौटीमा छुटेका असई राजु भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा अनुसन्धान शुरु गरेको छ। व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले भ्रष्टाचार कसुरमा अनुसन्धानका लागि सोमबार अख्तियार पठाएको थियो। प्रहरीको राय सुझावअनुसार सरकारी वकिलको कार्यालयले 'तीनैजना राष्ट्रसेवक कर्मचारी भएको र उनीहरुले पाएको अख्तियारी दुरुपयोग गरेकाले अदालतबाट छुटी जाने भए प्रहरीमा बुझाउन' अभियोग पत्र मार्फत अदालतलाई आग्रह गरेको थियो। दुईजनालाई प्रहरी पुर्पक्षको आदेशअनुसार केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको थियो। धरौटी मागिएका भण्डारीलाई अदालतले प्रहरीमा बुझाएको थियो। 'अदालतले हामीलाई बुझाएपछि सोमबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसक्यौं,' बौद्ध बृत्तका प्रमुख डिएसपी मनोज केसीले नागरिकन्युजसँग भने। अख्तियारका सचिव गणेशराज जोशिले अनुसन्धान अधिकृत तोकेर प्रकृया शुरु गरिएको बताए। 'यस विषयमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रकृया अगाडि बढाइसकेका छौं' उनले भने। चैत ४ गते कुमारीगालमा मूर्ति व्यापारी कर्णध्वज लिम्बू र सूर्यमान तामाङलाई कब्जामा लिएर दुई लाख ६१ हजार रुपैयाँ, मोबाइल र मोटरसाइकल कब्जामा लिएको अभियोगमा भण्डारीसहित सईद्वय रुद्र पौडेल र प्रकाश मल्लविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोग लगाइएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले दुवै सईलाई पुर्पक्षमा पठाउने आदेश दिए पनि प्रहरी अनुसन्धानमा अपहरण योजनाकार र असुलीको रकम भागबन्डामा संलग्न देखिएका भण्डारीलाई भने एक लाख ५० हजार धरौटी मागेको थियो।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses