मे दिवसका लागि चन्दा असुली
काठमाडौं - नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर दिवसका लागि चन्दा असुली गर्न थालेका छन्। महासंघले उद्योगी, व्यवसायी र विभिन्न संस्थामा चन्दा दिन आग्रह गर्दै पत्र पठाएको छ।
मे दिवसकै लागि अरु मजदुर संगठनले सहयोग मागे पनि महासंघले चर्को दबाब दिएको व्यवसायीले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार विभिन्न वस्तुगत संघलाई पाँच लाखसम्म चन्दाको लागि धम्कीपूर्ण भाषामा टेलिफोन आउन थालेको छ। महासंघ अन्तर्गतका वस्तुगत संघका अध्यक्षहरुले पाँच लाख रुपैयाँसम्म चन्दा मागेको भन्दै महासंघको नेतृत्व तहलाई जानकारी गराएको बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बताए।
उनले अहिले चन्दा दिनसक्ने अवस्थामा व्यवसायीहरु नभएकालेे टेलिफोन समेत उठाउन छाडेको बताए।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले मे दिवसका लागि भन्दै चन्दाको दबाब आएको बताए।
'निर्माण व्यवसायीलाई चन्दाको निरन्तर दबाब आएको छ। यो बाहेक पनि महासंघमा रसिद लिएर चन्दा माग्न आउने समूह छन्,' उनले भने, 'पचास हजारदेखि एक लाख रुपैयाँसम्म चन्दा मागिरहेका छन्।' उनले बिहीबार चन्दा माग्न आउने समूहसँग छलफल गरेको बताए।
'हिजो (विहिवार) मात्रै नेकपा–माओवादीका ट्रेड युनियनका साथीहरु आएका थिए। मैले उहाँहरुलाई चन्दा दिन सकिदैन भनेर पठाएँ,' लामिछानेले भने, 'हामी एक पैसा पनि दिन सक्दैनौ।' उनले माग गरे अनुसार रकम नदिंदा धम्कीपूर्ण भाषा प्रयोग गरेको बताए।
'उनीहरुसँग छलफल हुँदा सिधै धम्की दिएनने। तर अरुको उदाहरण दिएर घुमाउरो पारामा धम्की दिइयो,' उनले भने, 'जस्तो सुकै भाषा प्रयोग गरे पनि निर्माण व्यवसायीले चन्दा सहयोग दिनसक्ने अवस्था छैन।' महासंघका अनुसार अहिले प्रत्येक व्यवसायीको कार्यालयमा चन्दाको पत्र गएको छ। कतिपय व्यवसायीले भित्रभित्रै रकम दिएर मिलाएका छन्।
'चन्दा नदिए भौतिक आक्रमणसम्म भोग्नुपर्छ। अहिलेको बाध्यता भनेको कि चन्दा दिनुपर्र्योत की व्यवसाय छाडेर पलायन हुनुपर्र्यो ,' एक उद्योगी भन्छन्, 'सरकारले सुरक्षा गर्ला भन्ने विश्वासले बस्न सकिदैन।'
वस्तुगत संघका अध्यक्षहरुले महासंघमा चन्दाको दबाब आएको बताए पनि सार्वजनिक रुपमा बोल्न चाहेनन्। 'चन्दा मागेको कुरा बाहिर ल्याउँदा झन् आक्रमण हुन थालेपछि किन ल्याउनु?' एक व्यवसायीले भने, 'चन्दा माग्न आएको समूहलाई कारवाही भए मात्र सार्वजनिक गर्न सकिन्छ,' दलहरुले कामै नगरी कमाउने फटाहालाई पालेकाले चन्दाको विगविगी बढेको ती व्यवसायी बताउँछन्।
'दलहरुले फटाहा पालेका छन्। उनीहरुलाई कामै नगरी पैसा आउने उद्यममा लगाए पछि चन्दा आतंक रोकिदैन,' व्यवसायी भन्छन्, 'सरकारले चन्दा माग्ने समूहलाई नियन्त्रण गर्न प्रयास समेत गरेको छैन।' चन्दा माग्ने समूह राजनीतिक खोलभित्र हुने भएकाले उनीहरुसँग जोरी खोज्नुभन्दा रकम दिनु राम्रो हुने व्यवसायीको निर्ष्कष छ।
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले अहिले चन्दा माग्दै पत्र आएको जानकारी दिए।
'अरु बेलामा पनि मे दिवसको अवसरमा सहयोगको लागि पत्र आउने गरेको थियो। अहिले पनि आएको छ,' उनले भने, 'हामीले सकेको सहयोग गर्छौ।'
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका रामदीप आचार्यले मजदुर दिवसमा सहयोग माग्ने प्रचलन भएकाले पत्र पठाएको स्वीकार गरे।
'हामीले मजदुर दिवसका लागि सहयोग गर्नुस् भनेर पत्र पठाएका छांै। रकम उल्लेख गरेका छैनांै,' उनले भने, 'यो स्वेच्छिक हो। कसैलाई पनि दबाब दिइएको छैन।' उनले कसैले दबाबका आधारमा ठूलो रकम मागेको भए जानकारी गराउन आग्रह गरे।
'हामीलाई चाहिदैन'
एमाले निकट नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले मे दिवसका लागि आफ्नो संगठनले चन्दा नउठाएको जनाएको छ।
'मे दिवसमा हाम्रो संगठनको चन्दा, सहयोग माग्ने योजना छैन,' जिफन्टका अध्यक्ष विष्णु रिमालले नागरिकसँग भने, 'हामीलाई सहयोग चाहिंदैन।' उनले चार वर्षअघि भएको जिफन्टको केन्द्रीय महाधिवेशनमा समेत कुनै चन्दा र सहयोग नमागेको दावी गरे।
'मैले चार वर्ष अघि केन्द्रीय महाधिवेशन गर्दा पनि चन्दा नमागी गरे,' उनले भने, 'हाम्रो संगठनले चन्दा माग्दैन। आफ्नो पार्टीले मागेको कुरामा संगठनलाई आक्षेप लगाउन पाइदैन।'



0 comments
Write Down Your Responses