अवैध रुपमा बस्दै आएका कामदार वैध बन्न अझै ३ महिना बाँकी

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

सुरेन्द्र पौडेल, काठमाडौं, चैत २८ - साउदी अरबले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिई स्वेदश फर्काउने कार्यक्रम तीन महिनाका लागि स्थगित गरेको छ। केही देशले 'रेड जोन' मा परेका कम्पनीमा कार्यरत आफ्ना नागरिकलाई 'ग्रिन जोन' कम्पनीमा सारी वैध बनाउन तीन महिना समय मागेपछि साउदीले तत्काल आममाफी दिने कार्यक्रम कार्यान्वयन नगर्ने भएको हो।
भारत, पाकिस्तान लगायत देशले आफ्ना नागरिकलाई वैध कामदार बनाउन साउदीसँग समय मागेका थिए। बिभिन्न देशको अनुरोधलाई सम्बोधन गर्दै साउदी राजाले नै सोमबार अवैध कामदारलाई वैध बन्ने तीन महिनाको समय दिने घोषणा गरेका हुन्। साउदी राजाको घोषणासँगै त्यहाँ अवैध रहेका करिब ७० हजार नेपाली कामदारले समेत तीन महिनामा वैध बन्ने अवसर पाएका छन्।
'साउदी राजाले अवैध कामदारलाई बैध बन्न तीन महिना समय दिनु भएको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनबाट भने, 'अबको तीन महिनासम्म आममाफी कार्यक्रम स्थगित भएको छ।'
राजदूत पाण्डेका अनुसार साउदीले डेढ महिना अघि घोषणा गरिएको अवैध रहेका आप्रवासी कामदारलाई स्वदेश फर्काउने आममाफी कार्यक्रम रद्द गरेको भने होइन। तीन महिना अवधिमा पनि वैध नबन्नेलाई बिना सजाय ससम्मान स्वदेश फर्काउन घोषणा गरिसकेको छ।
वेरोजगारको संख्या बढेपछि साउदीले आफ्ना नागरिकलाई रोजगार सृजना गर्न बिभिन्न कार्यक्रम ल्याएको छ। सोही अनुसार त्यहाँका कम्पनीले निश्चित प्रतिशत स्वदेशीलाई रोजगार दिनुपर्ने नियम साउदीले बनाएको छ। नयाँ नियम अनुसार साउदीले सबैभन्दा बढी स्वदेशीलाई रोजगार दिने कम्पनीलाई प्लाटिनियम जोन, मापदण्ड पुरा गरेकालाई ग्रिन जोन, मापदण्ड नजिक पुगेका कम्पनीलाई चेतावनीस्वरुप एलो जोन र कुनै पनि प्रकारले मापदण्ड पुरा नगरेका कम्पनीलाई रेड जोनमा राख्दै आएको छ।
रेड जोनमा पर्ने कम्पनीको सबै कारोबार साउदी सरकारले 'लक' गरेको राजदूत पाण्डेले बताए। साउदी नयाँ नियम अनुसार यस्ता कम्पनीमा काम गर्ने कामदार स्वतः अवैध हुनेछन्। रेड जोनमा परेका कम्पनीमा काम गर्ने आप्रवासी कामदार संख्या ठूलो छ।
वैधानिक कामदारलाई मात्र साउदीले परिचय पत्र (रेसिडेन्ट परमिट) दिन्छ। यहि परिचयपत्रका आधारमा बैंक खाता खोल्ने, मोबाइलको सिमकार्ड किन्न पाउने, पैसा स्वदेश पठाउन पाउने सुविधा कामदारले पाउँछन्। कामदारको सबै व्यत्तिगत विवरण र काम परिचयपत्र मार्फत हुने गर्छ। परिचय पत्र नहुनेलाई अस्पतालले भर्ना समेत लिन मान्दैन।
'रेड जोनमा परेका कम्पनीमा कार्यरत कामदारलाई ग्रिन जोनका कम्पनीमा सार्न सके उनीहरु वैध हुन्छन्। यसका लागि बिभिन्न देशले समय मागेका हुन्। साउदी राजाले यसका लागि तीन महिनाको समय दिएका हुन्,' राजदूत पाण्डेले भने।
साउदीमा झण्डै ११ लाख निजी कम्पनी दर्ता छन्। साउदी अरब न्यूजका अनुसार यी मध्ये ११ प्रतिशत कम्पनी मात्र भिसा झिकाउन दर्ता भएका छन् भने ३१ प्रतिशत सञ्चालनमा रहेपनि त्यहाँ कुनै साउदी नागरिक कामदार छैनन्। कूल ६८ लाख आप्रवासी कामदार रहेको साउदीमा ६ लाखको (वैध/अवैध) हाराहारीमा नेपाली छन्।
साउदीले १५ वर्षपछि फागुन दोस्रो साता अवैध आप्रवासी कामदारलाई बिना जरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्ट) दिने घोषणा गरेको थियो। साउदीले यसअघि सन् १९९८ मा आव्हान गरेको ६ महिने (अप्रिल-सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार स्वदेश फर्केका थिए।
अहिले पनि साउदीमा अवैध बसी काम गर्ने आप्रवासीको संख्या लाखौं रहेको अनुमान छ। रेड जोन कम्पनीमा काम गर्ने मात्र होइन, बर्षौदेखि बिभिन्न कारणले लुकिछिपी काम गर्दै आएकाको संख्या पनि ठूलो छ। 'साउदी राजाको घोषणाले अवैध कामदारलाई दुइटा अवसर प्राप्त भएको छ। पहिलो, वैध बन्ने भने दोस्रो बिना सजाय स्वदेश फर्कन पाउने,' उनले भने।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.