लडाकूलाई काँग्रेस बनाउन खोज्दा गगनमाथि हमला

रुकुम । एमाओवादीको गढ मानिने रुकुममा पूर्वलडाकूलाई नेपाली काँग्रेसमा प्रवेश गराउन पुगेका काँग्रेस युवा नेता गगन थापामाथि वाइसिएलले कार्यक्रमस्थलमै आक्रमणको प्रयास गरेका छन् । रुकुमको ग्राइलाको बेलटापूमा आइतबार काँग्रेस रुकुमले आयोजना गरेको आमसभामा प्रमुख अतिथिका रुपमा थापा सहभागी कार्यक्रमलाई वाइसिएलले बिथोलेका हुन् । सभामा १५ जना पूर्वलडाकूसहित एमाओवादीका ६० कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम चलिरहेका बेला वाइसीएल नेता केदार विष्टको
नेतृत्वमा आएका समूहले मञ्चमै ढुंगा प्रहार गरेका हुन् । उनीहरुले थापाविरुद्ध गालीगलौजसमेत गरेका थिए । वाइसीएल र काँग्रेस कार्यकर्तावीच केहीबेर दोहोर ढुंगा हानाहान भएको थियो । वाइसीएलले कार्यक्रम बिथोलेपछि बेलटापुको स्थिति तनावग्रस्त बनेको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको स्थानीय पत्रकार लक्ष्मण केसीले जानकारी दिनुभयो । वाइसीएलले कार्यक्रमस्थलमा राखिएका काँग्रेसका झण्डासमेत फालिदिएका छन् भने माइकलगायतका सरसामानमा क्षति पुर्याएका छन् । प्रमुख अतिथि बनेका थापालाई भने प्रहरीले सदरमुकाम खलंगा ल्याएको छ । कार्यक्रममा गगन थापा आउने माइकिङ शनिबार नै भएको र वाइसीएलले आक्रमण गर्ने संकेत पाएपछि प्रहरीले निगरानी बढाएको थियो । कार्यक्रम स्थलमा विहानै करिव ४० प्रहरी खटिएका थिए भने थापाको सुरक्षामा पनि १० भन्दा बढी प्रहरी खटाइएको प्रहरीले स्रोतले बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.