एमाओवादी फोहोर बटुल्ने भाँडो-केपी ओली
४ जेठ, काठमाडौं । उर्मिला अर्याल र नायिका रेखा थापाले पेरिसडाँडामा टीका लगाएर एमाओवादीमा प्रवेश गरेकै दिन शनिबार एमाले नेता केपी ओलीले कपनस्थित एउटा पार्टी प्यालेसमा तीन एमाओवादी कार्यकर्तालाई टीका लगाउँदै भन्नुभयो-’एमाओवादी फोहोरमैला थुपार्ने ‘डम्पिङ साइड’ भयो । गाउँखाने कथामा जस्तो समाजका राम्रा मान्छेजति अब जम्मै एमालेका, काम नलाग्ने पत्करजति जम्मै एमाओवादीका !
पार्टी छाडेर एमाओवादी प्रवेश गर्नुभएकी निवर्तमान पोलिटब्यूरो सदस्य उर्मिला अर्याललाई नेता ओलीले पत्कर र किर्नोको संज्ञा दिनुभयो । ‘किर्नो पनि अघाएपछि चुप लागेर बस्छ, यी मान्छे कस्ता ? जति खाए पनि चित्त नबुझ्ने ।’ ओलीले अर्याललाई संकेत गर्दै भन्नुभयो-’दुई दुईपल्ट सांसद बनाइयो, दुईपल्ट मन्त्री बनाइयो । केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनाइयो, तर यति खाँदा पनि चित्त नबुझ्ने कस्तो मान्छे ?’
ओलीले एमाले अर्याद भन्दा अघि एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झालाई पत्कर बताउनुभयो । ‘रामचन्द्रजस्तो पत्करलाई बोकेर एमाओवादीहरु हिँडेका छन् । यो माओवादी त फोहोर बटुल्ने भाँडोजस्तो पो भयो ।’
नेकपा एमालेको कपन गाउँ कमिटीले मिलनचौकस्थित एक पार्टी प्यालेसमा शनिवार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी केपी ओली र विद्या भण्डारी आउने प्रचार गरेको थियो । तर, तोकिएको समयभन्दा आधाघण्टा ढीलो ओलीमात्रै हुण्डाइ कार चढेर कार्यक्रमस्थल पुग्नुभयो । कार्यक्रम स्थलमा ओलीले कपाल र मुन्द्रा पालेकासमेत गरी ३ सय १२ जना युवा युवतीलाई माला र अवीर लगाएर पार्टीमा प्रवेश गराउनुभयो । यसरी प्रवेश गर्नेहरुमा तीनजना एमाओवादी कायृकर्तालाइृ भने भाषण गर्न लगाइएको थियो । मोरंगका बालकृष्ण ढकाल, सिन्धुलीका नवराज घिमिरे र ओशोको माला लगाएकी कञ्चन पूडासैनीले आफूहरु बाध्यताले माओवादीमा लागेको बताएका थिए । तीनैजनाले आफूहरु पूर्व एमाले कार्यकताृ रहेको बताउँदै घर फर्केको बताउँदा हलमा रहेका सयौंले ताली बजाएका थिए ।
कार्यक्रममा नवप्रवेशीलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो-’हामी तपाईहरुलाई माओवादीले जस्तो रक्तचन्दन ओसार्न लगाउँदैनौं । उनीहरुले जस्तो तपाईहरुलाई लडाकू देखाएर राज्यको अर्बौं भ्रष्टाचार गर्दैनौं । तपाईहरुलाई भ्रष्टाचार गर्न र ठेक्कापट्टा कब्जामा लगाउँदैनौं । टावरहरु ठ्याउन पनि लगाउँदैनौं । तपाईहरुले माला लगाएको अर्थ देशको विकासमा सहभागी हुनका लागि हो ।’
एमाओवादी कहाँ खस्छ, थाहा छैन
नेता ओलीले सर्वहाराको नेता प्रचण्डले आफ्नो छोराले ‘हिमाल चढ्छु
बा’ भन्दा लैजान त छामेरा भन्दै राज्यकोषबाट दुई करोड रुपैया दिएको बताउनुभयो । ‘लडाकूका जिऊबाट अझैसम्म छर्रा निकाल्न सकेको छैन, आफ्ना छोरालाई सगरमाथा चढ्न दूईकरोड दिन्छन् ।’ ओलीले भन्नुभयो-’काठमाडौंमा ठडिएका अग्ला अग्ला टावर, मेडिकल कलेज र रियल स्टेटहरु कसका हुन् ? अब चाँडै थाहा हुन्छ ।’
मन्तव्यका क्रममा एमाले नेता ओलीले थप्नुभयो-’प्रचण्डपथ सकियो । महान जनयुछ सकियो, महान जनसेना पनि सकिए, एमाओवादीले नौलो जनवाद पनि छाड्यो । नौलो जनवाद नमान्ने हो भने कुन जनवाद मान्ने ? एमाओवादीसँग अब कुनै सिद्धान्त छैन । यो आकाशबाट झरेको छ, कहाँनेर र्झछ पत्तो छैन ।’
नेपालमा समावेशी हुँदैन
एमाले नेता ओलीले नेपालमा एउटामात्रै जाति र भाषाको बहुमत नभएकाले समावेशीको सिद्धान्त गलत भएको बताउनुभयो । यूरोमा एकजाति र एक भाषाको बाहुल्य रहेकाले अल्पसंख्यकलाई समावेश गर्न ल्याइएको सिद्धान्त नेपालमा लागू नहुने उहाँले बताउनुभयो । ‘नेपालमा महिला ५१ प्रतिशत छन्, अनि उनीहरुलाई समावेशी हुन्छ ? समावेशी भनेको त थोरै भएकालाई गर्ने हो ।’ उहाँले भन्नुभयो ।
थ्रेसहोल्ड लागू हुनैपर्छ
कार्यक्रमपछि पत्रकारसँग बोल्दै नेता ओलीले आगामी निर्वाचनमा थ्रेसहोल्डको प्रावधान लागू हुनै पर्ने एमालेको अडान रहेको बताउनुभयो । उहाँले संविधानसभाको चुनाव आगामी मंसिरमा नभएर कात्तिकमा हुनुपर्ने बताउनुभयो । चुनावको वातावरण बन्दै गएको र दलहरु सहमतिको नजिक पुगेको उहाँको तर्क थियो । ‘एमालेका मान्छे पार्टी छाडेका छाड्यै छन्, अब एमाले सकियो रे त ?’ पत्रकारको प्रश्नमा ओलीले एकछिन हाँसेर जवाफ दिनभयो – ‘यै कपनमा हेर्नोस् न । तीनजना माओवादीमा गएका रहेछन्, ३ सय १२ जना आज एमालेमा प्रवेश गरे ।’
काठमाडौं ४ मा सबैको ध्यान
कपन काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा पर्छ । विगतको संविधानसभामा सुप्रभा घिमिरेले १३ हजार मत ल्याएर जितेको यस क्षेत्रमा विद्या भण्डारीले ९ हजार मत ल्याउनुभएको थियो भने एमाओवादी तेस्रो स्थानमा सीमित भएको थियो । यसपालिको चुनावमा एमालेका युवा नेता योगेश भट्टराईले ४ नम्बर क्षेत्रबाट लड्न मन गरेको कार्यकर्ताहरु बताउँछन् । तर, कांग्रेसका गगन थापाको रोजाइ पनि यही क्षेत्रमा रहेको बताइन्छ । एमाओवादीबाट भने पूर्व लडाकू कमान्डर पासाङको नाम चर्चामा छ ।
0 comments
Write Down Your Responses