आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा ती विद्यार्थी सङ्गठनले एकअर्काप्रति आरोप प्रत्यारोप मात्र गरेनन् आफ्नो सङ्गठनले त्यस किसिमको गलत काम गरेको भए विद्यार्थी राजनीति नै छाड्ने समेत बताए।
साथै उनीहरुले स्ववियु निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन विभिन्न क्याम्पसमा भइरहेको अवैध विद्यार्थी भर्ना प्रक्रिया खारेज गर्नुको साथै विद्यार्थी सङ्गठनलाई बदनाम र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने खालका भ्रष्टाचार र गुण्डागर्दी जस्ता अवाञ्छित क्रियाकलाप रोक्नुपर्नेमा समेत जोड दिए।
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भ्रष्टाचार र गुण्डागर्दीजस्ता क्रियाकलाप गरी स्ववियु निर्वाचनलाई बदनाम गर्न खोजिएको भन्दै निर्वाचनका लागि रातारात नक्कली विद्यार्थी भर्ना गर्ने कार्य बन्द गरिनुपर्ने बताए। उनले भने– लाखौँ खर्च गरेर रातारात नक्कली विद्यार्थी भर्ना गरिएको छ। हाम्रो सङ्गठनलाई बदनामी गर्न झुटो आरोप लगाइएको छ। अखिल क्रान्तिकारीले गलत रुपमा एकमुष्ट विद्यार्थी भर्ना गरेको कसैले पुष्टि गर्छ भने म विद्यार्थी राजनीतिबाट राजीनामा दिन्छु।
उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन एकअर्का सङ्गठनले आपसी आरोप प्रत्यारोप छाडेर सहकार्य गरी अघि बढ्नुपर्ने बताए। अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गलेले अहिले हरेक क्याम्पसमा एकमुष्ट विद्यार्थी भर्ना गरिएको घटनाप्रति आफ्नो सङ्गठनको आपत्ति रहेको बताउँदै मर्यादित निर्वाचनका लागि अनैतिक तवरबाट गरिएको विद्यार्थी भर्ना प्रक्रिया रोकिनुपर्ने बताए। उनले नियतवश गरिएका भर्ना खारेज गरेरमात्र निर्वाचनमा जानुपर्ने बताए।
अध्यक्ष ढुङ्गेलले भने– हामी कमजोरी सच्याउन तयार छौं। निर्वाचनका सन्दर्भमा सबै क्याम्पसमा गरिएका भर्नाहरु खारेज गर्न हाम्रो सङ्गठन सहमत छ, अन्य सङ्गठनले पनि सहमति जनाउनुपर्छ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले निर्वाचनको सन्दर्भमा क्याम्पसमा पैसा खन्याउने र गुण्डागर्दी मच्चाएर तनाव सिर्जना गर्ने कार्यले राम्रो सन्देश नजाने बताउँदै नक्कली विद्यार्थी भर्ना गरेर निर्वाचनमा जान नहुने बताए।
उनले भने– नेविसङ्घ निर्वाचन हार्न तयार छ तर नक्कली विद्यार्थी भर्ना गरेर गरिने निर्वाचन चाहँदैन।अध्यक्ष कर्णले केही सङ्गठनको गल्ती कारण आफ्नो सङ्गठनलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै क्याम्पसभित्र यस्ता अवाञ्छित गतिविधि हुन नदिन आफ्नो सङ्गठनले शान्तिपूर्ण प्रतिवाद गर्ने बताए।
यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले नक्कली विद्यार्थी भर्ना गरेर गरिने निर्वाचनको अर्थ नहुने र त्यस्तो निर्वाचनमा आफूहरुको सहभागिता नहुने उल्लेख गरे। यस्तै मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष कपिलेश्वर यादवले ठूला तीन विद्यार्थी सङ्गठनको निर्वाचन प्रक्रियामा भइरहेको अनैतिक क्रियाकलापले समग्र विद्यार्थी सङ्गठनको बदनामी भएको बताए।
मधेसी विद्यार्थी फोरम नेपालका अध्यक्ष अशोक यादवले स्ववियु निर्वाचनमा ठूला विद्यार्थी सङ्गठनले लाखौं खर्च गरेर स्ववियुलाई भ्रष्ट संस्था बनाउन खोजेको बताए। रासस
'नक्कली भर्ना'बारे आरोप प्रत्यारोपमा, पुष्टि भए राजीनामा दिन्छु : शर्मा
काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विभिन्न क्याम्पसमा लाखौँ रुपैयाँ खर्च गरेर रातारात नक्कली विद्यार्थी भर्ना गरिएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि विद्यार्थी सङ्गठनहरुमाझ खैलाबैला मच्चिएको छ। अनैतिक ढङ्गले नक्कली विद्यार्थी भर्ना गर्ने तिनै विद्यार्थी सङ्गठनहरु यतिखेर एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्ने चेष्टा गरिरहेका छन्।
0 comments
Write Down Your Responses