स्ववियु चुनाव स्थगित हुने !
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आगामी २३ जेठका लागि घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने निश्चितप्रायः भएको छ । विद्यार्थी संगठनका नेताहरूबीच क्याम्पसमा भर्नाको विषय समधान नभएपछि तत्काल निर्वाचन नहुने अवस्था सिर्जना भएको हो । सोही कारण देखाई उपत्यकाका १५ क्याम्पस प्रमुखले निर्वाचन गर्न नसकिने जनाउ दिएका छन् । ‘निर्वाचनका लागि विद्यार्थी संगठनबाट नै अवरोध भएका कारण निर्धारित समयमा निर्वाचन गर्न सकिँदैन, यसका लागि वातावरण आवश्यक छ,’ क्याम्पस प्रमुखहरूले त्रिवि उपकुलपति डा. हीराबहादुर महर्जनलाई मंगलबार बुझाएको पत्रमा भनेका छन् । स्ववियु निर्वाचनका लागि सोमबारसम्म मतदाता नामावली प्रकाशन गरिसक्नुपर्नेमा तालाबन्दीका कारण अधिकांश क्याम्पसमा सो काम हुन सकेको छैन । उपत्यकाका अधिकांश क्याम्पसमा भर्नाको विषयमा विवाद हुँदा प्रशासनमा तालाबन्दी भएको छ । प्रशासनमा ताला लागेका कारण र क्याम्पसमा निर्वाचन नजिकिँदै गर्दा विवादले उग्र रूप लिएकाले निर्वाचन गर्न नसकिने जानकारी त्रिविलाई दिएको नेपाल ल क्याम्पसका प्रमुख गोविन्द गौतमले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । क्याम्पस प्रमुखले निर्वाचन गर्न नसक्ने बताएका छन् भने विभिन्न विद्यार्थी संगठनले फर्जी विद्यार्थीको नाम खारेजी हुनुपर्ने माग राख्दै ताला लगाएका छन् । एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले मंगलबारदेखि देशभरका क्याम्पसमा ताला लगाएको छ । क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियुको तालाबन्दीका कारण निर्वाचनका लागि असहज वातावरण सिर्जना भएको क्याम्पस प्रमुखहरूले ठहर गरेका हुन् । विगत चार वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन यस पटक गर्ने विद्यार्थी संगठनका नेताहरूले सहमति जनाएका थिए । तर, गत २ र ३ जेठमा एकमुष्ठ भएको विद्यार्थी भर्नाको विषयमा विवाद समाधान नभएका कारण निर्वाचन नै अनिश्चित बनेको हो । निर्वाचनको वातावरण तयार पार्न मंगलबार नै ११ विद्यार्थी संगठनको बैठक बस्यो । सो बैठकमा हिमाल शर्माले नेतृत्व गरेको अनेरास्ववियु क्रान्तिकारी सहभागी भएन । नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले विद्यार्थी संगठनहरूबीच देखापरेका समस्या उच्चस्तरीय संयन्त्रले समाधान गरेर भए पनि निर्धारित मितिमा निर्वाचन हुनुपर्ने निर्णय भएको बताए । मंगलबारको बैठकले एकमुष्ठ भर्ना रद्द गर्ने, अखिल क्रान्तिकारीले क्याम्पसमा लगाएको ताला खुला गर्न आग्रह गर्ने र २३ जेठमा नै त्रिविको क्यालेन्डरअनुसार निर्वाचन गर्नुपर्ने निर्णय गरेको कर्णले बताए । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पहिले लगाइएका क्याम्पसका ताला खोल्न दबाब दिनका लागि अन्य क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाइएको बताए । तर, निर्वाचन २३ जेठमा नै गर्न नसकिने अडान क्याम्पस प्रमुखहरूले राखेका छन् । त्यसरी निर्वाचन गराउन नसक्ने बताउँदै ज्ञापनपत्र बुझाउने क्याम्पस प्रमुखमा त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. गोविन्द सुवेदी, त्रि–चन्द्रका प्रा.डा. हरिप्रसाद थपलिया, आरआरका रुद्र पौडेल, सानोठिमीका प्रा. नरप्रसाद थापा, महेन्द्ररत्नका भोलानाथ भट्टराई, सरस्वतीका रामहरि शर्मा लम्साल रहेका छन् । त्यस्तै, पाटनका अमन श्रेष्ठ, शंकरदेवका प्रकाशसिंह प्रधान, पद्मकन्याका रमेश श्रेष्ठ, भक्तपुरका डा. शंकरकुमार उपाध्याय, पब्लिक युथका शीला प्रधानांग, नेपाल कमर्सका ज्योति पाण्डे, थापाथलीका हरिराम पराजुली र नेपाल ल का गोविन्द गौतम छन् ।
|
0 comments
Write Down Your Responses