बुढेसकालमा घर निकाला
काठमाडौं, असार ७ - '१२ छोरा १३ नाती बुढाको धोक्रो काँधै माथी' भन्ने उखान ७९ बर्षे मीन बहादुर बाँनियाको जीवनसँग मेल खाएको छ । काभ्रे घर भएका बँनियाका चार छोरा र तीन छोरी भए पनि बुढ्यौली जीवनमा उनी एक्लिएका छन् । 'बृद्धा अवस्थामा छोरा बुहारीकै दुर्व्यवहार सहनुपर्ने रहेछ,' कोटेश्वरस्थित यातायातव्यवस्था विभाग अघि धर्नामा आएका बाँनियाले आफ्ना संगीसंग गुनासो गरे, 'आफ्नै छोराले घरबाट निकालेपछि अहिले कोठा लिएर दिन बिताउनु परेको छ ।'
उमेर र सम्पति छउन्जेल सबैका प्यारा बाँनियाले जब छोरालाई अंश भाग लगाइदिए तब उनी हेलामा पर्न थाले । केही वर्ष अघिसम्म काभ्रेको सापिङ गाबिसमा ५२ रोपनी जग्गाका मालिक अहिले घरबार बिहिन भएका छन् । '०६५ सालमा श्रीमती बितेपछि आफ्नो भागमा पाँच रोपनी राखेर सबै जग्गा छोरालाई भाग लगाइदिएू,' उनले भने, 'कान्छो र जेठो छोरो मिलेर मलाई पाँच लाख दिने सर्तमा मेरो भागको पाँच रोपनी जग्गा पनि बेचिदिए ।' उनका अनुसार छोराहरुले पाूच लाख दिनुपर्नेमा दुई लाख मात्रै दिए । पाँच वर्ष भयो दुई लाखले औषधि उपचार र खाना खादैमा सबै सिद्धियो । छोरीहरुले कहिलेकाही दिएको खर्चले दिन कटाइरहेको छु । 'तर छोराहरु भने दुई लाख दिए मात्र भात खान दिने भन्दै झगडा गर्छन् ।
श्रीमती बितेपछि बाूनिया कान्छा छोरा बुहारीसंग बस्दै आएका थिए । कान्छा छोरा माओवादीको सेना, माइलो आर्मीको सुविदार, साहिलो माओवादीका जिल्ला नेता, जेठो गाउूमै खेती किसानी गर्दै आएका छन् । 'कान्छो छोरोकहाँ बस्दै आएको थिए । 'घरमा बसेको देखि नसक्ने गर्दागर्दै साहिलो र कान्छो छोरो मिलेर मार्दिन्छौं भन्दै घरबाट निकाले,' उनले रुँदै भने, 'त्यसपछि जेठो छोरोकहाँ गएँ ।' त्यहाँपनि बुहारीको दुर्व्यवहार सहनुपर्यो । सबै छोरा जागिरे छन् म पाल्न सक्दिन निस्केर गइहाल भन्दै गाली गलौज गर्न थाल्यो । त्यसपछि काडाँधारीमा भएको माइलो छोरोको घरमा आँए । छोरो जागिरमा धेरैजसो घर बाहिर नै बस्थ्यो । 'बुहारीले खाना नदिने, बाहिर कसैसंग बोल्न नदिने, तथानाम गाली गर्ने सहेरै बसेकै थिएू । एक दिन बुहारीले त निस्केर गइहाल नत्र भने तेरा ओढ्ने ओच्छ्याउने छतबाट मिल्काइदिन्छु भन्दै गाली गरिन् । त्यसपछि घर बाट निकेर कोठामा बसेको छु ।' महिनाको १५ सय भाडा तिर्नुपर्छ । स्टोप बालेर खाना पकाउूछु । सके आफै पकाएर खान्छु नसके भोकै सुत्छु ।' बृद्धाश्रममा बस्नका लागि छोराहरु हुँदाहुँदै गाविसले सिफरिस नदिएको उनी बताउँछन् ।
छोरीहरुले कहिलेकाही दिएको खर्च जम्मा गरेर प्रेसर र मुटुको औषधि खाइरहेको छु । जेष्ठ नागरिक संगठन काडाघारीका अध्यक्ष कुल बहादुर सुबेदी लगायतको समुहले काँडाघारीस्थित माइलो छोरालाई भेटी सम्झाएका पनि हुन् । 'ती छोराले पहिले बाबुले आफुसंग भएका पैसा खर्च गरुन त्यसपछि मात्र भात खान दिन्छु भन्ने जवाफ दिए,' संगठनका अध्यक्ष सुबेदीले भने ।
Sources : ekantipur



0 comments
Write Down Your Responses