खिलराज सरकारलाई आयो अल्टिमेटम !

२२ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरमसहितको संघीय लोकतान्त्रिक मोर्चाले आफ्ना १३ बुँदे माग पूरा गर्न सरकारलाई १ हप्ते अल्टिमेटम दिने भएको छ । मोर्चाको बुधबार बसेको बैठकले भोलि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर अल्टिमेटम दिने निर्णय गरेको हो ।


‘अहिलेको वार्ता प्रक्रियाप्रति हामी सन्तुष्ट छैनौं’ मोर्चामा प्रवक्ता एवं ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीका प्रवक्ता परशुराम तामाङले अनलाइनखबरसँग भन्नुभयो-’भोलि मन्त्रिपरिषद् अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तय भएको छ ।’ सरकार माग सम्बोधन गर्नेभन्दा पनि विषयान्तर गर्ने प्रयासमा लागेको मोर्चाको आरोप छ । फोरम अध्यक्ष उपेन्द्र यादवले अनलाइनखबरसँग भन्नुभयो- ‘सरकार माग सम्बोधन गर्नेभन्दा पनि विषयान्तर गर्नेतिर लागेको छ । त्यस्तो हो भने वार्ता गर्नुको औंचित्य छैन, हामी वार्तामा बस्दैनौं ।’


मोर्चा र सरकारबीच दुई पटक वार्ता भएको छ । संघीय लोकतान्त्रिक मोर्चाले चार दलीय राजनीतिक समिति खारेज, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा लगायतका १३ बुँदे माग अघि सारेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.