ढुङ्गागिट्टी लिन गएका २१ जना महाकाली टापुमा थुनिए
महेन्द्रनगर - ढुङ्गा गिट्टी लिन महाकाली नदी गएका २१ जना बाढी आएपछि टापुमा थनिएका छन्। आइतबार दिउँसो ढुङ्गा गिट्टी लिन ट्रक र ट्याक्टर सहित गएकाहरु महाकाली नदीमा पानीको वहाव बढेपछि भीमदत्त नगरपालिका–१३ पिपरैयामा नदीको बीच भागमा रहेको टापुमा थुनिएका हुन्। अवेरसाँझसम्म ढुङ्गा गिट्टी निकाल्नमै व्यस्त रहेका उनीहरुले घर फर्किदा मात्र पानीको वहाव बढेको थाहा पाएको बताए। 'ढङ्गा गिट्टी निकाल्नमै व्यस्त रह्यौं,' बीच टापुमा अलपत्र परेका नवराज पन्तले भने, 'पानीको वहाव ह्वात्तै वढेकाले नदी वारी आउन सकिरहेका छैनौं।' सुदूरुपश्चिमको पहाडी भेगमा लगातार वर्षा जारी छ। महाकालीमा पानीको वहाव बढ्दै गएको छ। पानीको वहाव घट्ने सम्भावना छैन्। टापुमा अलपत्र परेकाहरुले आफ्ना घर परिवारका सदस्यलाई खवर गरेपछि उनीहरुको बारेमा थाहा भएको हो। अहिले उद्दारका लागी मझगाउँस्थित गरुड दल गण र महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मको टोली घट्नास्थलतर्फ प्रस्थान गरेको छ। राती भएकाले उद्धारमा कठिनाई भयो। अहिले महाकाली नदीमा पानीको वहाव नेपालतर्फ एक लाख २२ हजार ५ सय १२ क्युसेक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उद्दारका लागी प्रहरी टोली घट्नास्थलतर्फ पठाएको प्रहरी उपरिक्षक विनोद शर्मा घिमिरेले बताए।
|
0 comments
Write Down Your Responses