पहिरोमा पुरिएर मर्नेको सङ्ख्या नौ पुग्यो

ताप्लेजुङ- थुकिमा गाविसमा गएको पहिरामा परी ज्यान जानेको सङ्ख्या नौ पुगेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरामा परी घाइते भएकी सुकमाया साँवा(लिम्बू ) को मृत्यु भएपछि नौ पुगेको हो। लिम्बूको उपचारका लागि सदरमुकाम ल्याउने क्रममा आज अपराह्न ४ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोविन्द आचार्यले बताए। 
बुधबार मध्यराति पहिराले उनलाई ५० मिटर तल बगाएको बताइएको छ। अविरल वर्षासँगै आएका पहिरामा परी तीन घरका आठ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा थुकिमा गाविस–६ निवासी ६९ वर्षीय अष्टबहादुर सिवा, उनकी श्रीमती ६० वर्षीया जसमाया, उनका छोरा ४० वर्षीय सलमान, बुहारी ३४ वर्षीया मनमाया र नाति १४ वर्षीय नानीराम तथा १२ वर्षीय खगेन्द्र सिवा, आशिष सिवा र सोही ठाउँका तेजबहादुर सिवाकी १० वर्षीय छोरी नैना रहेको प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिए।
पहिरामा बेपत्ता ३१ वर्षीय तेजबहादुर सिवा, उनकी श्रीमती २९ वर्षीय मुना र १० वर्षीय काजी सिवा अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ। यसैबीच आजै शव आफन्तलाई जिम्मा लगाइसकिएको छ। पहिरो प्रभावितलाई राहत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। घटनास्थल सदरमुकामदेखि १२ कोस टाढा पर्छ। 

0 comments

Write Down Your Responses

Powered by Blogger.