भेनेजुएलाले अमेरिकासँगको सम्बन्ध तोड्यो

काराकस । भेनेजुएलाले अमेरिकासँग आफ्नो सम्बन्ध अन्त्य गरेको घोषणा गरेको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी दूतको रूपमा मनोनित समन्था पावरले अमेरिकी संसदको माथिल्लो सभा सिनेटमा भएको सुनुवाइमा दमनकारी शासनको विरुद्ध उभिने तथा क्युबा, इरान, रसिया तथा भेनेजुएलामा नागरिक समाजमाथि भइरहेको कारबाहीलाई चुनौती दिने बताएपछि भेनेजुएलाले यस्ता घोषणा गरेको हो । वासिङटन तथा काराकसले सन् २०१० देखि राजदूत आदानप्रदान गरेका छैनन् । यसो भए पनि भेनेजुएलाले अमेरिकालाई प्रतिदिन नौ लाख ब्यारेल तेल निर्यात गर्छ । भेनेजुएलाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुन महिनादेखि आरम्भ भएको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रिया अन्त्य गरिएको उल्लिखित छ । भेनेजुएलाले पावरले प्रस्तुत गर्नुभएको हस्तक्षेपकारी क्रियाकलापको विरोध गर्ने र उहाँको असम्मानजनक बिचारधारलाई पछि अमेरिकी विदेश मन्त्रालयले समर्थन गरेको उल्लेख गरेको छ । यस्तो कुरा अमेरिकी विदेशमन्त्री जोन केरीले यसअघि राख्नुभएको भनाइको भाषा र त्यसको विषयवस्तुसँग मेल नखाने पनि भेनेजुएलाले उल्लेख गरेको छ । जुन महिनामा गुआटेमालामा अमेरिकी विदेशमन्त्री केरी तथा भेनेजुएलाका समकक्षी एलिया जाउआबीच दुबै राष्ट्रबीच राजदूत आदानप्रदान गर्ने गरी छिटै वार्ता गर्ने सहमति भएको थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बिहीबार पावरको भनाइ रिस उठाउने खालको भएकाले यसलाई तत्कालै सच्याउन वासिङ्टनसँग माग गर्नुभएको थियो । शुक्रबार अमेरिकी विदेश मन्त्रालयले पावरको भनाइलाई प्रतिरक्षा गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेनेजुएलाका राष्ट्रपति मदुरोको विजयलाई स्वीकार गर्न बाँकी छ । उहाँलाई पूर्व बामपन्थी राष्ट्रपति हृयुगो चाभेजले नियुक्त गर्नुभएको थियो । आफ्नो १४ वर्षको अवधिमा तत्कालित राष्ट्रपति चाभेजले अमेरिका साम्राज्यवादी भएको आरोप लगाउँदै इरान तथा सिरियाजस्ता मुलुकको समर्थन गर्नुभएको थियो । रासस/एएफपी

0 comments

Write Down Your Responses

Powered by Blogger.