एमाले बन्न परीक्षा पास अनिवार्य, उत्तीर्ण प्रमाणपत्र लिनै पर्ने

२८ असार, काठमाण्डौं । कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्न विधानमै कडा व्यवस्था हुने गरे पनि तिनका कार्यकर्ता नै सामाजिक विकृति, विसंगतिका साथै अपराधमा मुछिएका घटनासमेत सार्वजनिक नभएका होइनन् । यस्तो अवस्थामा मुलुककै एउटा ठूलो वाम दल एमालेले भने सदस्यतामा थप कडाइ गर्दै सुधारका लागि एकै प्रकारको सदस्यता प्रदान गर्ने गृहकार्य थालेको छ । हाल एमालेले पार्टी सदस्य र संगठित सदस्य गरी दुई किसिमका सदस्यता प्रदान गर्दै आएको छ ।

तर, अब विद्यमान अवस्थामा संशोधन गरी एमाले बन्न अनिवार्य परीक्षा पास गरेपछि मात्रै सदस्यता दिन सकिने व्यवस्था लागू गर्न सो पार्टीले खोजेको हो । ती दुवै प्रकारको सदस्यताको सट्टा एमाले बनेको आधिकारिक सदस्यताका रूपमा एउटा मात्रै पार्टी सदस्यको व्यवस्था गर्ने गृहकार्य एमालेले थालेको छ ।

केन्द्रीय सचिवालयले आगामी राष्ट्रिय प्रतिनिधि परिषद्मा छलफलका लागि तयार पारेको विधान संशोधनसम्बन्धी प्रारम्भिक मस्यौदामा ‘पार्टी स्कुल विभागले सञ्चालन गरेको आधारभूत तहको कक्षामा परीक्षामा उत्तीर्ण भएर प्रमाणपत्र प्राप्त गरेको व्यक्ति मात्रै पार्टी सदस्य हुन योग्य हुने’ प्रस्ताव छ । ‘दुई प्रकारको सदस्यतासम्बन्धी विद्यमान व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकिरहेको र पार्टीले जनवर्गीय संगठनहरूलाई घोषित रूपमै प्रत्यक्ष सञ्चालन गरिरहेको अवस्थामा नयाँ सदस्यको प्रवेश जनसंगठनहरूमार्फत नै गर्नु उपयुक्त हुने हुनाले दुई किसिमको सदस्यता आवश्यक छैन,’ एकै प्रकारको सदस्यता कायम गर्नेगरी प्रस्तावित विधान संशोधन मस्यौदामा भनिएको छ ।

एमाले केन्द्रीय संगठन विभागका अनुसार पछिल्लो पटक पार्टीभित्र संगठित सदस्यको संख्या ३ लाख नाघिसकेको छ । ‘पार्टीमा छलफल धेरै कोणबाट भइरहेको छ, दुई प्रकारकै सदस्यता राख्नुपर्छ भन्ने कोणबाट पनि कुरा उठिरहेको छ, एउटै हुनुपर्छ भन्ने पनि उठिरहेको राजधानी दैनिकमा खबर छ । तर, गुणात्मक कार्यकर्ताको विकास गर्ने हो भने एकै प्रकारको सदस्यता कायम गर्दा राम्रो हुन्छ,’ संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले भने, ‘आठौं महाधिवेशनमा पनि एउटै बनाउनुपर्ने कुरा उठेको थियो, तर कस्तो पारित हुन्छ भन्ने कुरा राष्ट्रिय प्रतिनिधि परिषद्को हलले नै तय गर्ने हो ।’

उनले एकै प्रकारको सदस्यता कायम गर्दा न्यूनतम योग्यता के मान्ने भन्ने सन्दर्भमा पार्टी स्कुल विभागले निर्धारण गरेको पाठ्यक्रममा आधारित तह उत्तीर्ण गर्नुपर्ने विषय छलफलमा आएको जानकारी दिए । त्यसमा दर्शनशास्त्रको परिचय, कम्युनिस्ट पार्टीको परिचय, एमाले, जबज, कम्युनिस्ट आचारण, शैली,
एमालेको सिद्धान्त, नेपालको परिचयलगायतका सामान्य कुराहरू पाठ्यक्रममा समावेश छन् । नयाँ व्यवस्था पास भए ती सबै पाठ्यक्रमअनुरूपको परीक्षा पास गरेर एमाले बन्न चाहनेले अनिवार्य रूपमा उत्तीर्ण प्रमाणपत्र लिनुपर्नेछ । दुई प्रकारको सदस्यताका लागि एमालेले सातओटा न्यूनतम योग्यता तय गर्दै आएकोमा नयाँ विधानमा १२ बुँदे योग्यता पूरा गर्नुपर्ने प्रस्ताव गरेको छ । नैतिकवान र स्वच्छ चरित्र भएको, नैतिक पतन देखिने कुनै अभियोगमा सजाय पाएकोमा बाहेक अन्य फौजदारी कसुरमा अन्तिम सजाय भई सो सजाय भुक्तान गरेको ६ महिनाभन्दा बढी अवधि भइसकेको, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्ध तथा विधानलाई निःसर्त स्वीकार गरी कार्यान्वयन गर्न तत्पर रहेको हुनुपर्ने पनि उल्लेख छ ।

यस्तै, माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्दै जनताको सेवामा समर्पित, सामाजिक गतिविधिमा सक्रिय र राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता एवं भौगोलिक अखण्डताको रक्षाका लागि प्रतिबद्ध रहेको, कम्युनिस्ट आचरण र नैतिकताको पालना, सार्वजनिक जवाफदेहिता र पारदर्शी जीवनशैलीप्रति प्रतिबद्ध, उत्पादनमूलक काममा संलग्न हुन एवं सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्परलगायतका योग्यता संशोधनका लागि प्रस्तावित गरिएको छ । मस्यौदामा प्रस्तावित कतिपय कुरा अहिलेकै विधानकै व्यवस्थाअनुरूप भए पनि एमालेमा आपराधिक क्रियाकलापमा मुछिएका, डनका रूपमा परिचित थुप्रै कार्यकर्ताले पनि सदस्यता पाएका उदाहरण छन् । वरिष्ठ नेताहरूमाथि आर्थिक अनियमितताको आरोप पनि थुप्रै लागेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.