ट्याक्सी भाडा अझै थोरै भयो : व्यवसायी

१ साउन, काठमाडौं । सरकारले सार्बजनिक ट्याक्सीको भाडामा १६ प्रतिशत बृद्धि गरेकोमा ट्याक्सी व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । ट्याक्सीको भाडा प्रतिकिलोमिटर ५० रुपैयाँ लिन पाउनुपर्ने व्यवसायीहरुको माग छ । ‘हामीले दुई वर्ष पहिलेदेखि सरकारसँग विभिन्न माग राख्दै आएका छौं । प्रति किलोमिटर ५० रुपैयाँ भारडादर कायम गरियोस् भन्ने हाम्रो माग छ ।’ स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष राम थापाले अनलाइनखबरसँग भन्नुभयो, ‘सरकारले गरेको १६ प्रतिशत भाडावृद्धि हामीलाई मान्य छैन ।’ उपत्यकाका ट्याक्सी व्यवसायीले हाल लिँदै आएको वैधानिक भाडा प्रतिकिलोमिटर ३२ रुपैयाँको हाराहारीमा पर्न आउँछ । बढेको १६ प्रतिशत भाडा अनुसार हिसाब गर्दा प्रतिकिलोमिटर ५ रुपैयाँ बढ्न गई ३७ रुपैयाँको हाराहारीमा पुग्छ । तर, थापाका अनुसार व्यवसायीहरुको माग प्रतिकिलोमिटर ५० रुपैयाँ भाडा उठाउन पाउनुपर्ने भन्ने रहेको छ । मिटर जडान गरिएको ट्याक्सीमा शुरुको मिटरमा १६ रुपैयाँ उठ्ने व्यवस्था गर्न आफूहरुले माग गर्दा पनि सरकारले सुनुवाइ नगरेको र १४ रुपैयाँ बनाउन भन्दा पनि नमानिएको गुनासो गर्दै थापाले भन्नुभयो,- ‘प्रतिकिलोमिटर ५० रुपैयाँ बनाइयो भनेमात्रै अहिलेको बढेको महंगीको पनि सम्बोधन हुन्छ ।’ उपत्यकाका ट्याक्सीले राति ९ बजेअघि शुरुको मिटरमा १० रुपैयाँ र ९ बजेपछि १५ रुपैयाँबाट शुल्क लिँदै आएको भए पनि तेल नभएको लगायतका कारण देखाई यात्रुसँगको समझदारीका आधारमा भाडा लिने र मिटर अनुसार भाडा नलिने गरेको गुनासो पनि बढिरहेको छ । स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघले सरकारी भाडा वृद्धिमाथि असहमति जनाए पनि नेपाल मिटर ट्याक्सी व्यवसायी संघले भने अहिलेसम्म विरोध जनाउको छैन । ट्याक्सी व्यवसायीहरुवीच एकता नहुँदा उनीहरुवीच मत बाझिँदै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.