पाहुना बनेर लुटपाट
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने सिङ्गा गाविसमा पाहुना बनेर वास बस्न आएका व्यक्तिहरुबाट लाखौँको धनमाल लुटपाट भएको छ । सिङ्गा-१ अर्जेखोलाका रुद्रबहादुर खड्काको घरमा वास बस्न आएका नचिनेका व्यक्तिहरुले नगद र गहना लुटेर लगेका हुन् । रातको समयमा वास बसेका पाहुनाले बेहोस बनाई लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार राति १० बजे खाना खाएर सुतेका खड्काले मङ्गलबार दिउँसो व्यूझिँदा घरमा भएको नगद र गहना नभएपछि तातोपानी प्रहरी चौकीमा खबर गरेका थिए । मङ्गलबार साँझमात्र यो घटना सार्वजनिक भएको थियो । रुद्रबहादुर र उनकी श्रीमतीमात्र बस्ने सो घरमा वास बस्ने निहुँमा आएका तीनजनाले लुटपात गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । बाह्र तोला सुनका गहना र रु एक लाख नगद लुटिएको पीडितले बताएका छन् । साँझ सबैजनाले खाना खाएर सुतेपछि मङ्गलबार दिउँसोमात्र होसमा आएको खड्काले बताउनुभयो । उनीहरुले लठयाउने खानेकुरा खुवाएर बेहोस बनाई लुटपात गरेको हुन सक्ने प्रहरीको अनुमान छ । होस खुलेपछि मात्र वास बसेका व्यक्तिहरु नभएको, घरमा भएको गहना र नगद पनि हराएको थाहा पाएको पीडितले बताएका छन् । कालो वर्णका तीनजना युवा सो घरमा वास बसेका थिए । प्रहरी नायब उपरीक्षक मरासिनीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अनुसन्धानसँगै घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको प्रनाउ मरासिनीले बताउनुभयो । राससभिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses