पेट्रोल पम्पले यसरी मार्दा रहेछन् उपभोक्तालाई कैंची

अनियमितता गर्ने १२ पेट्रोलपम्पमा शिलबन्दी

नविन अर्याल
२७ असार, काठमाडौं । ठगी गर्ने नटवरलालका हजार दाऊ हुन्छन् भनेझै सवारी साधनलाई तेल बेच्न सडक छेऊमा खोलिएका विभिन्न पेट्रोलपम्पहरुले उपभोक्तालाई ठगी गर्ने नयाँ-नयाँ तरिका अपनाउने गरेको रहस्य खुलेको छ । कतै तपाई पनि यी पेट्रोलपम्पबाट तेल खरिद गर्दा ठगिइरहनुभएको त छैन ?
गत असार १४ देखि १० दिनसम्म लगातार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र उपभोक्तावादी संस्थाहरुको संयुक्त अनुगमन टोलीले देशका विभिन्न स्थानमा सञ्चालित ४४ वटा पेट्रोल पम्पहरुमा छड्के जाँच गरेको छ । जाँचका क्रममा १२ वटा पेट्रोलपम्पले अनेकन कला प्रयोग गरेर उपभोक्ता ठगी गर्दै आएको तथ्य फेला परेको छ । कतिपय पम्पहरुले तेलमा ठगी गर्न कैंचीसमेत प्रयोग गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ ।
१२ पेट्रोल पम्पमा गडबडी भेटियो
दक्षिणकाली आयल स्टोर बल्खु : दक्षिणकाली आयल स्टोरमा भएका नोजोलहरुमध्ये पेट्रोल वितरण गर्ने एउटा नोजोलको नाप परीक्षण गर्दा प्रत्येक ५ लिटरमा ५० मिलिलिटरदेखि सय मिलिलिटरसम्म कम पेट्रोल राखिदिने गरेको अनुगमन टोलीले फेला पारेको छ । त्यस्तै, एउटा डिजेल वितरण गर्ने नोजोलबाट प्रति ५ लिटरमा ४० मिलिलिटरसम्म कम राखिदिने गरेको फेला परेको आयल निगमले जनाएको छ ।
जयन्ती आयल स्टोर, त्रिपुरेश्वर : जयन्ती आयलमा रहेका २ वटा पम्पमध्ये डिजेल वितरण गर्ने पम्पमा गुणस्तर तथा नापतौल विभागको सील तोडिएको अवस्थामा भेटिनुका साथै प्रत्येक ५ लिटरमा ५० मिलिलिटरसम्म कम तेल बेच्ने गरेको भेटिएको आयल निगमले जनाएको छ ।
अम्बे आयल्स, बेनीघाट धादिङ : अम्बे आयल्सका तीनवटा पम्पमध्ये डिजेल वितरण गर्ने एउटा पम्पको नाप परीक्षण गर्दा ५ लिटरमा ६० मिलिलिटरसम्म कम तेल उपभोक्तालाई बेच्ने गरेको भेटिएको छ ।
गंगासागर आयल स्टोर, बेनीघाट धादिङ : डिजेल वितरण गर्ने पम्प ०५८ सालदेखि गुणस्तर तथा नापतौल विभागबाट चेकजाँच नभएको अवस्थामा फेला परेको छ । पम्पको नाप जाँच गर्दा प्रत्येक ५ लिटरमा ३ सय ७० मिलिलिटरसम्म कम तेल बेच्ने गरेको भेटिएको छ । साथै, पम्पको सील चुँडिएको तथा व्यवसायसम्बन्धी कुनै पनि कागजपत्र नभेटिएको अनुगमन टोलीले बतायो ।
सांग्रिला फ्युल सेन्टर, दारेचोक चितवन : दुईवटा पम्पमध्ये डिजल वितरण गर्ने पम्पमा परीक्षण गर्दा प्रत्येक ५ लिटरमा ५५ मिलिलिटरसम्म कम तेल बेच्ने गरेको भेटिएको छ ।
गोप्यश्वर आयल स्टोर, कुरिनटार चितवन : दुई पम्पमध्ये डिजल वितरण गर्ने पम्पबाट प्रत्येक ५ लिटरमा ६० मिलिलिटरसम्म कम तेल राखिदिने गरेको तथ्य फेला परेको छ ।
अकला देवी ट्रेडर्स, आँबुखैरेनी तनहुँ : तीन पम्पमध्ये पेट्रोल वितरण गर्ने पम्पबाट प्रत्येक ५ लिटरमा १ सय १० लिटरसम्म कम तेल बेच्ने गरेको अनुगमन टोलीले फेला पारेको छ ।
गौरी शंकर आयल सप्लायर्स, झराइखोला नवलपरासी : दुईवटा पम्पमा नापलाई प्रभाव पार्ने गरी स्थानीय भाषामा कैंची भनेर च्याप्न प्रयोग गरिने अतिरिक्त औजार प्र्रयोग भएको अनुगमन टोलीले फेला पारेको छ । यथास्थितिमा पम्पको नाप गर्दा डिजेल वितरण गर्ने पम्पबाट प्रत्येक ५ लिटरमा १ सय २० मिलिलिटरसम्म कम र पेट्रोल वितरण गर्ने पम्पबाट प्रत्येक ५ लिटरमा ४० मिलिलिटरसम्म कम तेल राखिदिने गरेको भेटिएको छ ।
सायना इन्टरनेशनल, कालिकानगर बुटवल : दुई पम्पमध्ये डिजेल वितरण गर्ने पम्प परीक्षण गर्दा प्रत्येक ५ लिटरमा १ सय ३० मिलिलिटरसम्म कम र पेट्रोल वितरण गर्ने पम्प परीक्षण गर्दा प्रत्येक ५ लिटरमा ९० मिलिलिटरसम्म कम तेल बेच्ने गरेको भेटिएको छ ।
साविक श्री इन्टरप्राइजेज, अग्यौली नवलपरासी : तीन पम्पहरुमध्ये पेट्रोल वितरण गर्ने पम्प परीक्षण गर्दा प्रत्येक ५ लिटरमा ३० मिलिलिटरसम्म कम बेच्ने गरेको भेटिएको छ । अन्य दुई पम्पमा डिजेल नभएको कारण परीक्षण गर्न नपाएको टोलीले बतायो ।
ठगी गर्ने पम्पहरुमा शिलबन्दी
संयुक्त अनुगमन टोलीले असार १४ गतेदेखि २४ गतेसम्म ८ दिन नवलपरासी, रुपन्देही, चितवन, तनहुँ, धादिङ र काठमाडौंका पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो । गडबडी देखिएका सबै पेट्रोल पम्पहरुमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । अर्को आदेश नआउँदासम्म विक्री वितरण नगर्न संचालकलाई अनुगमन टोलीले निर्देशन दिएको आयल निगम प्रवक्ता पुडासैनीले जानकारी दिनुभयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
श्रोत : अनलाईनखबर

0 comments

Write Down Your Responses

Powered by Blogger.