प्रत्येक बुथमा २ सय वाइसिएल खटाउने घोषणा


२७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा संगठन योंग कम्युनिष्ट लीग -वाएसिएल) ले आगामी चुनावमा प्रत्येक बुथमा २ सय वाइसिएल खटाउने घोषणा गरेको छ । वाइसिएलका अध्यक्ष गणेशमान पुनले आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो । पुनका अनुसार चुनावमा खटिने सो युवा टालीलाई उत्पादनको काममा समेत लगाउन प्रचण्डले निर्देशन दिनुभएको छ । ‘हरेक निर्वाचन क्षेत्रमा चुनावको प्रचार टिम र उत्पादनको टिम एउटै बनाउने हाम्रो अध्यक्षले भन्नुभएको छ । यो कुरा कार्यान्वयन गर्नका निम्ति हामीले अहिले टिम निर्माण गरिराखेका छौं ।’ वाइसिएल अध्यक्ष पुनले भन्नुभयो- ‘चुनाव सकेर उत्पादन गरौंला भन्दाखेरि हेटौडादेखि यहाँसम्म आइसक्यौं, अब फेरि पनि त्यस्तै हुनसक्छ । त्यसकारण सँगसँगै उत्पादन र संविधानसभा चुनावका लागि हामी जाँदैछौं । चुनाव प्रचार र उत्पादनका लागि ‘एक बुथ, २ सय युथ’ को नारा अघि सारिएको बताउँदै पुनले भन्नुभयो- ‘त्यो २ सय युथ भनेको प्रचार टिममात्र हुँदैन, स्वयंसेवक पनि हुन्छ, प्रचार टिम पनि हुन्छ र उत्पादन टिम पनि हुन्छ । कतिपय ठाउँमा उद्धारको काम गर्नुपर्ने भयो भने त्यो पनि गर्छ ।’ विस्तारै तल-तलसम्म भोलेन्टियरहरु निर्माण गरेर आपत विपतका कामहरु गर्ने र जनतासँग जोडिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । वाइसिएलका केन्द्रीय पदाधिकारीहरुले सहकारीको अवधारणा अन्तरगत कीर्तिपुरमा च्याउ खेती शुरु गरेको र यसैसाता ७ सय कीलो च्याउ विक्री गरिएको वाइसिएलका उपत्यका इञ्चार्ज रामप्रसाद सापकोटा -दीपशिखा) ले बताउनुभयो । यसैवीच वाइसिएलले आफ्नो पहिलो राष्ट्रिय अधिवेशन आगामी भदौ १५ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । सम्मेलनको भदौ १५ गते बसन्तपुरमा उद्घाटन गरिने बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.