'तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने' !

 'तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने'- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा। यो एउटा नेपाली चलचित्रले पाएको एडल्ट अनुमतिपत्रको केही अंश मात्र हो। यस्ता सेन्सर गरिएका दृश्य एवं संवादका उदाहरण प्रशस्तै छन्।

केन्द्रीय चलचित्र समितिले चलचित्रको अवस्था हेरी सार्वजनिक प्रदर्शनका लागि तीन प्रकारको अनुमतिपत्र दिँदै आएको छ। पहिलो युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने, दोस्रो प्यारेन्ट्स गाइडेड अर्थात् अभिभावकको साथमा मात्र हेर्न सकिने थि्रलर चलचित्र तथा तेस्रोमा उमेर पुगेका अर्थात् १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न मिल्ने एडल्ट अनुमतिपत्र।

एडल्ट भन्नाले १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न सक्ने भनिएको हो। तैपनि यसले समाजलाई यौनजन्य गतिविधिमा लाग्न प्रेरित गरिरहेको समाजशास्त्रीहरूको भनाइ छ। अश्लीलताले चलचित्र चल्छ भन्नु भ्रम नै हो। राम्रो फिल्म चल्न अश्लीलताको आड लिनु नपर्ने कुरा बताउँदै नेपाली चलचित्रका नियमित दर्शक सन्दीप राई भन्छन्- राम्रो फिल्म चलिहाल्छ छाडा हुँदैमा चल्ने होइन।

विगतमा एडल्ट अनुमति प्राप्त नेपाली चलचित्रले खासै व्यापार पनि गरेका छैनन्। त्यसबाहेक समाजले कतिसम्म पचाउँछ भन्ने कुरा निर्माता-निर्देशकले हेक्का राख्नुपर्ने फिल्म सेन्सरबोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल बताउँछन्। चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला भन्छन्- नेपाली चलचित्रमा बढिरहेको अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। सीधै देखाउनुभन्दा त्यही कुरालाई फरक प्रस्तुतिबाट बुझाउन सकिने उनको तर्क छ। बुझ पचाएकाहरूलाई त चिन्ता नहोला तर नेपाली चलचित्रमा निरन्तर लागिरहेका अन्य निर्माता, निर्देशक एवं कलाकारहरूलाई यस्ता चलचित्र बन्ने क्रम नरोकिए काम गर्न गाह्रो हुन्छ भन्ने तर्क पनि निरौलाको छ।


बार गर्लको प्रवेश

बार डान्सरबाट नेपाली चलचित्रमा उदाएकी हुन् नायिका पुजना स्त्री। उनले नेपालमा पहिलो पल्ट बिकिनीमा फोटोसुट गराएकी थिइन्। उनको फिल्ममा किस सिन र बेड सिन लगभग छुट्दैन। यसरी नै नेपाली समाजमा अहिले क्याबिन रेस्टुराँहरूमा कार्यरत युवतीहरूको प्रवेशले नेपाली चलचित्र बढी छाडा भएको कलाकार सिर्जना सुब्बा बताउँछिन्। 'केही प्रतिशत मात्र राम्रा कलाकार छन्,' उनले भनिन्- हामीजस्ता कलाकारको पारिश्रमिक नै घटाइदिए तिनीहरूले। हामी स्त्रिmप्ट पढ्छौं अनि पारिश्रमिकमा कुरा मिलेपछि मात्र अनुबन्धित हुन्छौं। उनीहरू त फोनकै भरमा मान्छन्। कुनै पनि दृश्य दिन आपत्ति मान्दैनन्। उनले कटाक्ष गर्दै भनिन्- पोर्न स्टार सन्नी लिओनलाई शरीर देखाउन के-को आपत्ति ? सुनेकी छु त्यस्ता केटीहरूले निर्देशकलाई निर्माता पनि खोजिदिने गरेका छन्।

चलचित्र नायिका भएपछि आफ्नो 'रेट' बढ्ने भएकाले पनि त्यस्ता युवातीहरूको प्रवेश बाक्लिएको उनको आरोप छ। त्यसैले पनि नेपाली चलचित्र अश्लील देखिन थालेको छ। उनीहरू चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्सर समितिलाई नै चकित पार्ने खालका दृश्यमा काम गरिरहेका छन्। समितिले टुलुटुलु हेर्नुपर्ने बाध्यता छ। सेन्सरबाट अनुमति प्राप्त चलचित्र भए पनि त्यस्ता चलचित्र घरपरिवारसँग हेर्न सकिँदैन। 

चलचित्रका बारेमा नबुझी एकै पटक निर्माता-निर्देशक बन्न आउनेहरूको जमातका कारण पनि यस्तो हुन गएको सुब्बा बताउँछिन्। जो हिरोइनसँग रमाइलो गर्न पाइने, सँगै खानपिन र डेटिङ जान पाइने कुरामा लोभिएर आएका हुन्छन्। सी ग्रेड चलचित्रका लागि उनीहरू नै तयार हुन्छन् जो पढेर-बुझेर यो क्षेत्रमा आएका छैनन्।

सुब्बा भन्छिन्- सबै निर्माता-निर्देशकलाई दोष लगाउन मिल्दैन। बाध्यता भन्दै उत्ताउलो दृश्य दिनु युवतीहरूको पनि कमजोरी हो। आफ्नो देशको परिवेश एवं समाजको पनि ख्याल गर्नुपर्छ। सम्बन्धित निकायले चलचित्रसँगै कलाकारको ग्रेड पनि छुट्याउनुपर्छ।

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिलेका कतिपय निर्माताको यस्तो क्रियाकलाप स्वीकार गर्छन्। लामो समयदेखि काम गर्दै आएका निर्माताहरू त्यस्ता छैनन्, राई तर्क गर्छन्- निर्माताहरूले नेपाली मूल्य-मान्यता, रीतिरिवाज एवं परम्पराको ख्याल गर्नुपर्छ।

त्यसो त चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला पनि नेपाली चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्छन्। निरौला भन्छन्- कतिपय निर्माता-निर्देशक यस्तै चलचित्र चल्ने भ्रममा छन्। बोर्डमा पहिलेभन्दा अश्लील खालका चलचित्र निर्माण इजाजत लिन आउनेहरूको संख्या बढेको उनको भनाइ छ। यो कुरामा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेल पनि सहमत छन्ा्। अहिले सबैले हेर्न मिल्ने चलचित्रभन्दा वयस्कले हेर्ने खालका चलचित्र निर्माणमा निर्माता-निर्देशकहरू केन्दि्रत भएको शर्माको अनुभव छ।

एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको चर्चा कम थिएन। त्यतिबेला छोटा पहिरनकै कारण चलचित्र चल्ने टिप्पणी पनि गरियो। नेपाली चलचित्र नचलिरहेको खडेरीमा अन्ततः लुट र चपली हाइटले पैसा कमाए। ती दुई चलचित्रले प्रस्तुत गरेको शैलीबाट मात्र चलचित्र चल्ने विष्लेषण गर्दै निर्माताहरू तिनकै भद्दा नक्कल गर्न लागिपरेका छन्। उनीहरू समाजको वास्तविकता ख्याल नगरी वयस्क चलचित्र बनाउन उद्यत् छन्।

कलाकार

अहिले कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बलात्कारको सिन, बेड तथा किस सिन दिने नायिकाहरूको कमी छैन। चलचित्र पाउन वा आफूलाई चर्चामा राखिरहन त्यस्ता दृश्य दिन पछि पर्दैनन् कलाकारहरू। उनीहरूले अभिनय गरेका प्राय सबै चलचित्रले एडल्ट सर्टिफिकेट पाएका छन्। त्यसैले उनीहरूलाई एडल्ट नायिका भन्दा फरक पर्दैन। जिया केसीको एटीएम, बर्बाद र रंग वे तीनवटै चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ। उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएका अन्तरंग दृश्य आदिका कारण ती चलचित्रलाई यो दर्जामा राखिएको हो। जियासँगै एटीएममा सोनिया शर्मा र सविना कार्की पनि छन्। यस्तै बिनिता बराल आफ्नो डेब्यु फिल्म चपली हाइटबाट रातारात हिट भइन्।



उनको सेक्सी हाउभाउ एवं दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्यका कारण चपली हाइट पनि एडल्ट सर्टिफिकेट पाउने चलचित्र बन्यो। बिन्दासकी सुष्मा कार्की पनि एडल्ट नायिकामा पर्छिन्। उनको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र बिन्दासमा उनको पोस्टरको चर्चा पनि कम भएन। चलचित्र मेरो जीवन साथीमा राजेश हमालसँग बेड सिन दिएकी थिइन् सुष्माले। पूजना स्त्रीले पनि रक्षामा बेड सिन दिएकी छिन्। अरुण्ािमा लामा चलचित्र किन-किनमार्फत हट नायिकाका रूपमा उदाउने तयारीमा छिन्। उक्त चलचित्रमा उनले अभिनेता राजेश हमालसँग बेड तथा किस सिन दिएकी छिन्। चलचित्र किन-किनले पनि एडल्ट अनुमतिपत्र पाएको छ।

संख्या बढ्यो

विगतका वर्षहरूमा नेपाली चलचित्रमा केन्द्रीय जाँच समितिले केही चलचित्रलाई मात्र एडल्ट (१६ वर्षदेखि माथिका उमेरले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिँदै आएको थियो। पछिल्लो समयमा भने एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा ठूलो मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०६९/७० मा दुई दर्जन चलचित्रले एडल्ट प्रमाणपत्र पाए। केही वर्षअघि चलचित्र पलपलमाले एडल्ट सर्टिफिकेट पाएको थियो। त्यसपछि भने लुट र चपली हाइटले फरक स्वादको चलचित्रको नाममा अश्लील संवाद र दृश्यको बाढी लगाएको कुरा बताउँदै केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले भने- नेपाली चलचित्रमा बढ्दो अश्लीलताले समाजमा नकारात्मक असर पारिरहेको छ। कतिपय चलचित्र परिवारसँग बसेर हेर्नै नसकिने खालका छन्। फरक कथा र नयाँपनको नाममा समाजमा नपच्ने खालका दृश्य र संवाद हाल्ने गरिएको छ। लुट र चपली हाइटपछि नयाँ कलाकारले शरीर नखोली अघि बढ्नै नसक्ने प्रवृत्तिको विकास भएको छ।

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन- २०२६ अनुसार बनेको नियमावली- २०५७ मा नेपालको अन्तिरिम संविधान- २०६३ को मूल भावनाविपरीत हुने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति-सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाल नागरिक वा कुनै जनजाति विशेषका बारेमा रुग्ण, नग्न चित्रण छायांकन गर्न नपाइने, राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायांकन गर्न नदिने, निषेधित क्षेत्रमा छायांकन गर्न नपाइने आदि कुरा उल्लेख छ। ऐनमा निर्माताले चलचित्रको निगरानी राख्ने सरकारी अधिकारीलाई आफ्नै खर्चमा चलचित्र छायांकनको अनुगमन गर्न लगाउनुपर्ने व्यवस्था छ तर नेपाली चलचित्रका कुनै पनि निर्माता वा निर्देशकले त्यसो गरेको पाइँदैन।

कन्फ्युजमा बोर्ड र जाँच समिति

जब चलचित्र लुट र चपली हाइटले सुस्ताएको नेपाली चलचित्र व्यवसायमा पनि पैसा कमाए, त्यसपछि एक थरी निर्माता-निर्देशकहरूको दिमागमा त्यही छाप पर्‍यो। यस्तै दृश्य र संवाद भए त चल्ने रै'छ भन्ठान्नेहरू बढे। उनीहरू ए ग्रेडका राम्रा कलाकारलाई भन्दा सी ग्रेडका कलाकारसँग यस्ता खालका चलचित्र बनाउन तम्सिए। उनीहरूलाई स्थापित कलाकारको स्टारडम आवश्यक परेन। मात्र कसले यौन दृश्य दिन सक्छ र छाडा बोल्न धकाउँदैन, उसकै खोजी हुन थाल्यो। चलचित्र विकास बोर्ड तथा चलचित्र केन्द्रीय जाँच समितिको कमजोरीको फाइदा उठाउनेहरूका कारण पनि नेपाली चलचित्र अश्लीलतामा केन्दि्रत हुँदै गएको छ। सरकारी कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्ने तथा निर्माता-निर्देशकसँग किन नराम्रो हुनु भन्ने धारणा विकास भएकाले पनि यसो भएको हो। त्यसबाहेक चलचित्र निर्माण इजाजत दिने बोर्ड एवं चलचित्र निर्माण भएपश्चात् अन्तिम जाँच समितिको आपसी द्विविधाका कारण पनि यस्तो स्थिति आएको हो। 

© From साप्ताहिक
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.