अमेरिकी डलर भन्दै छाडा कागजको पोको दिएर ठगी
धरान । ठगी गर्ने नटवरलालका हजार दाऊ हुन्छन् । धनकुटाका दुई युवालाई धरानमा बोलाएर आइतबार दुईजना ठगले अमेरिकी डलर भन्दै छाडा कुरा एवं व्यंग्यात्मक उखान लेखिएको कागजको पोको थमाएर करिब ४ लाख रुपैयाँ चप्काएका छन् ।
आइतबार दिउँसो धरान १४ स्थित हात्तीसार
छेउमा ३ लाख ७० हजार नगद, सुनको औंठी र मोबाइलसँग डलर भनेर साटिएको पोकोमा
कागजमात्रै भेटिएपछि धनकुटा बजारका तेजबहादुर थापा र योगेन्द्र राईले
ठगहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय धरानको शरणमा पुगेका छन् ।
उनीहरुले डलर भनेर लिएको पोको खोलेर हेर्दा कापीका पानाहरुमात्रै थिए, जसमा
अशुद्ध रुपमा लेखिएको थियो- ‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी ।’
धनकुटा नगरपालिकाका कर्मचारी थापा र राई
डलर साटेर २ लाख कमाउने लोभमा धरान झरेका थिए । धनकुटामा होटल सावेद एण्ड
लज सञ्चालन गर्ने थापाका अनुसार होटलमा बस्न आएका एक युवकले केही समयअघि
उनको भिजिटिङ कार्ड लिएर गएका थिए । सोही आधारमा उनले फोन गरेर आफूसँग १७
हजार अमेरिकी डलर रहेको तर साट्न अप्ठ्यारो भएको भन्दै अनुरोध गरेर लोभ
देखाएको थापाले बताए ।
पीडित थापा भन्छन्- ‘यो साट्दा १२ लाख
हुन्छ, हामीलाई १० लाख दिनु २ लाख तपाईलाई नाफा भनेपछि हामी लोभियौं ।’
लोभमा परेपछि उनीहरुले धरान आएर होटलमा बोलाए । तर, ठगहरुले हात्तीसारमा
आउन आग्रह गरे ।
हात्तीसार पुगेर थापा र राईले उनीहरुलाई
पैसा, औंठी र मोबाईलसमेत दिएर बाँकी पैसा डलर साटेर एक घण्टापछि दिने सहमति
गरी फर्किए । थापा र र राईले उनीहरुका सामु पोको खोलेनन् । तर, अलि तल
आएपछि पोको खोलेर हेर्दा अमेरिकी डलर भनिएको पोकोमा त पैसाजस्तै पारेर
राखिएका कागजका टुक्रामात्रै पो रहेछन् ।कागजमात्रै भए त हुन्थ्यो, त्यसमा
व्यंग्य गर्दै चोक्टा खान आएको, झोलमा डुबेर मरिस् भन्ने व्यंग्यसमेत
लेखिएको ‘तँलाई ……. को डलर’ भन्ने अश्लील वाक्य लेखिएको भेटेपछि डलर साटेर
पैसा कमाउने दाऊमा धरान आएका थापा र राई छाँगाबाट खसेजस्तै भए ।
राई भन्छन्- ‘तीन मिनेटमै ठगिएको थाहा
पायौं, तर उनीहरु भागिसकेका थिए । ‘ पैसा ठग्नेहरुलाई फोन गर्दा ‘दाइ
तपाईको भाग्य यस्तै रहेछ’ भनेर जिस्क्याउने गरेको थापा बताउँछन् । साँझमा
फोन गर्दा ठगले दाइ तपाई जस्ता धेरै मान्छे हामीलाई चाहिएको छ, धन्यवाद म
सप्तरी पुगिसकें भनेको थापाले बताए ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी टेकबहादुर तामाङका अनुसार ठगहरुको खोजी कार्य भइरहेको छ ।
थप समाचार पदन तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses