समाचार
»
अन्ना क्यासिनोका जिएम पक्राउ
अन्ना क्यासिनोका जिएम पक्राउ

काठमाडौं- नेपालीलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाउन प्रतिबन्धित भए पनि कानुन मिच्दै क्यासिनोमा नेपाली प्रवेश गराएको अभियोगमा अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ ६ बजे क्यासिनोबाट निस्कँदै गर्दा दरबारमार्ग प्रभागका प्रमुख कुमुध ढुंगेलले उनलाई पक्राउ गरेका थिए। महानगरीय प्रहरी प्रभाग दरबार मार्गले उनलाई आजै थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। प्रहरीले पटकपटक अन्ना क्यासिनोमा छापा मार्दा नेपाली जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका थिए। केही दिन अगाडि दरबार मार्ग प्रभाग छापा मार्दा ललितपुरका साहायक सिडिओसहित नेपाली नागरिक क्यासिनोको क्वाएनसहित पक्राउ परेपछि प्रहरीले विष्टको खोजी गरेको थियो। कानुनअनुसार जुवा खेल्ने र खेलाउने दुबैमाथि कारबाही हुने प्रवधान रहेपनि प्रहरीले यसअगाडि क्यासिनोमा छापा मार्दा फेला परेका जुवाडेलाई पक्राउ गरी सञ्चालकलाई उन्मुक्ति दिँदै आएको थियो। दरबार मार्ग र सोह्रखुट्टे प्रभागको प्रमुख परिवर्तन भएपछि प्रहरीले क्यासिनोमा कडाइ गर्दै आएको छ। प्रहरीले दैनिक चार पटकसम्म छापा मार्न थालेपछि केही क्यासिनो सञ्चालक गृहमन्त्रीसमक्ष पुगेका थिए। स्रोतका अनुसार प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नेपालीले जुवा खेलाउने सञ्चालकविरुद्ध समेत कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित इकाइका प्रमुखहरुलाई निर्देशन दिइसकेका छन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses