एमालेले एकहप्ताभित्रै ‘सरप्राइज’ दिने

२६ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गरेका र निष्कृय रहेका नेताहरुलाई घर फर्कन आहृवान गरेको छ । मधेसी, आदिवासी-जनजाति लगायत पार्टीका प्रभावशाली नेताहरुले छाड्ने क्रम तीव्र भएपछि एमालेले औपचारिकरुपमा उनीहरुलाई पार्टीमा फर्कन आहृवान गरेको हो ।
UML officeसोमबार पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले पार्टी छाडेका अधिकांश नेता छिटै घर फर्कने दाबी गरेका छन् । गत माघ ३ गते स्थायी समितिले गठन गरेको कार्यदलले आवश्य तयारी, छलफल र पूर्वाधारलाई अगाडि बढाएपछि पार्टी छाडेकाहरु र्फकने वातावरण बनेको नेताहरुले बताएका छन् । स्थायी समिति बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिव युवराज ज्ञवाली र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
एकहप्ताभित्र ‘सरप्राइज’
पार्टी छाडेका को-को र्फकंदैछन् भन्ने कुरा स्पष्ट नपारे पनि एमाले नेताहरुले एकहप्ताभित्र ‘सरप्राइज’ दिने दाबी गरेका छन् । ‘पार्टी छाडेका र अरु समेत गरी ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन्’ पत्रकार सम्मेलनमा अध्यक्ष खनालले भन्नुभयो-’एक हप्ताभित्र नेपाली राजनीतिमा एमालेले गतिलो सन्देश दिनेछ ।’
पार्टी छाडेकालाई फर्काउन कुनै नीति परिवर्तन नगरिने पनि नेताहरुले स्पष्ट पारेका छन् । ‘हामीले नीति परिवर्तन गर्ने होइन, उहाँहरु नै विचार परिवर्तन गरेर एमालेमा र्फकनुहुन्छ’ पत्रकारको जिज्ञासामा बरिष्ठ नेता नेपालले बताउनुभयो । पटक-पटक भएको वार्ता र छलफलमा पार्टी छाडेका अधिकाँश नेताहरुले र्फकने इच्छा व्यक्त गरिसकेका एमालेले दावी गरेको छ । यसअघिका कमीकमजोरी सच्याएर सबैलाई एकताबद्ध बनाउँदै एमालेलाई मुलुकको पहिलो शक्ति बनाउने नेताहरुले दावी गरेका छन् ।
‘परिवर्तनलाई संस्थागत गर्न, राष्ट्रिय एकतालाई सुनिश्चित गर्न र स्वाधीनता र समृद्धिको दिशामा मुलुकलाई अगाडि लैजान एमाले वैचारिक हिसाबले मात्रै होइन, भौतिक र सङ्गठनात्मक हिसाबले पनि राष्ट्रको पहिलो शक्ति बन्नु र राष्ट्रिय राजनीतिको नेतृत्वमा स्थापित हुनु अपरिहार्य छ’ महासचिव एवं कार्यदलका संयोजक पोखरेलले निकालेको अपीलपत्रमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.