चुनावमा अवरोध गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

१३ साउन, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सुरक्षामा अवरोध गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिनु भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सवालमा कुनै सम्झौता नहुने उहाँको भनाई छ । आइतबार ‘असल व्यावसायिक अभ्यासका लागि निजी क्षेत्रको घोषणासभा’लाई सम्बोधन गर्दै रेग्मीले भन्नुभयो-निर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सवालमा सरकारले कुनै सम्झौता गर्ने छैन र यसमा कुनै कमजोरी पनि रहने छैन । साथै, शान्तिसुरक्षा र अमनचैन कायम गर्ने सन्दर्भमा कुनै अवरोध वा बाधा श्रृजना भएमासरकारले सशक्त रुपमा उपयुक्त प्रबन्ध र कानून बमोजिम कारबाहीको प्रक्रिया पनि अवलम्बन गर्नेछ ।’ निर्वाचनमा शान्तिपूर्ण वातावरणको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले सरकारलाई व्यवसायीहरुकेा पूर्ण साथ र सहयोग रहने विश्वास लिएको बताउनु भयो । निर्वाचनका लागि सरकारले अधिकांश आधारभूत कामहरु सम्पन्न गरिसकेको भन्दै उहाँले अबको काम दलहरूको सहभागितामा उम्मेदवारी मनोनयन, प्रचारप्रसार र तोकिएको मितिमा शान्तिपूर्ण वातावरणमा मतदानको सुनिश्चित गर्नु भएको बताउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.