खाली शिशी, पुरानो कागज बटुलेर बेच्दै र तलब खाँदै पदमपुरका शिक्षकहरु

महेन्द्र राजमार्ग अन्तर्गत बकुलहर सडक खण्डबाट जम्मा १० कि.मि. उत्तर तर्फ पदमपुर गाविस वडा नं. ८ स्थित जनहीत रा.प्रा.वि.का नीजि श्रोतका शिक्षकहरु विगतका दिनहरुबाट आफ्नो तलबको जोहो आफैँले गर्न थालेका छन् । कुल ८२७ सुकुम्बासी घरहरुमात्र भएको उक्त क्षेत्रमा चेपाङ जातिको १२८ घरधुरी रहेको छ भने अन्यमा जनजाति, दलित, बोटेको बाहुल्यता रही आएको छ ।

पदमपुर ८ सीमाबस्तीमा निर्मित जनहीत रा. प्रा. वि. स्कुलको निर्माण बाल कल्याण संस्था बछौली चितवनले २०६५ सालमा गरिदिएको हो । ६ जना शिक्षक रहेको उक्त स्कुलमा हाल १ जना शिक्षकको मात्र दरबन्दी रहेको छ । जुटपानी गा.वि.स.तथा पदमपुर गाविसको भौगोलिक विवादको कारणले यस स्कुलले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त गर्नु पर्ने सेवा सुविधाबाट बञ्चित हुनु परेपनि अहिले भने त्यो समस्याबाट मुक्त भएको छ ।


पदमपुर गाविस वडा नं. १ मा अवस्थित कमलपुर नि.मा.बि. मातृ बिद्यालय रहने गरी हाल यो कमलपुरको शाखाको रुपमा रहेको छ । निजी श्रोतमा राखिएका शिक्षकहरुलाई तलव खुवाउन समस्या सिर्जना भएपछि सो बिद्यालयमा पढ्ने बिद्यार्थीका सुकुम्वासी अभिभावकहरुबाट बार्षिक २५० को दरले रकम स्कुललाई बुझाउँदै आएपछि पनि सो समस्याबाट मुक्त हुन नसकेपछि अहिले आएर शिक्षक, अभिभावक तथा व्यवस्थापन समितीका सदस्यहरु मिलेर दैनिक पठनपाठनको काम सकिएपछि गाउँ क्षेत्र तथा बजार क्षेत्रमा गई कवाडी बस्तुहरु जस्तै खाली शिशी पुरानो कागज बटुल्दै हिँड्न थालेका छन् ।


चैत्र २२ मा बसेको आम भेलाबाट नीजि श्रोतका शिक्षक तथा परिचरलाई तलब खुवाउन कसरी सकिन्छ भनेर गरेको छलफलबाट सहयोगदाताहरु समक्ष जाने नयाँ तौर तरिका चुनिएको प्राधानाध्यापक भरत रेग्मीले बताउनुभयो । श्रोत जुटाउने अभियानमा सघाउ पुर्याउन स्थानीय ५ जना सुकुम्बासीहरुले हरेक महिना १ भारीको दरले जलावन दाउरा स्कुललाई उपलव्ध गराउने बचनबद्धता गरेको र प्रदान तथा संकलन कार्य पनि सुरु भैसकेको कुरा जानकारी गराएका थिए । अन्य ३ जनाले पनि खाली शिशी संकलन गरी स्कुललाई हस्तान्तरण गर्ने जनाएका छन् ।


देशका बैकल्पिक राजधानीको रुपमा चर्चा चल्दै आएको चितवनको भरतपुर सदरमुकामबाट नजिकको गाविसको यस्तो अवस्था प्रति जिल्ला शिक्षा कार्यालय तथा अन्य सम्बन्धित निकायबाट सहयोग प्राप्त हुँदै आएपनि यो नै पर्याप्त नभएको व्यवस्थापनका अध्यक्षले बताए । विगत ३ महिना देखि करिब ४९ हजार ५ सय तलब बापतको रकम नीजि श्रोतका शिक्षकहरुलाई भुक्तान गर्न बक्यौता रहेपछि सोही स्कुलका प्र.अ. भरत रेग्मीले आफुले पाउने तलबबाट दैनिक १० रुपैँ
याको दरले मासिक ३०० जम्मा गर्ने बचनबद्धता सहित यसलाई आफुले निरन्तरता दिन थालेको पनि बताउनुभयो ।


कवाडी सामानहरु संकलन गर्ने क्रममा महेन्द्र आदर्श चिकित्सालय भरतपुरका चिकित्सक बिजय पौडेलले अस्पतालले प्रयोग गरेर फाल्नुपर्ने खाली शिशी तथा कवाडी प्लास्टिकहरु जनहीत रा. प्रा.बि.लाई हस्तान्तरण गरी सहयोग गर्ने बचनबद्धता गरेको कुरा पनि जानकारी दिएका थिए । आम्दानीको बैकल्पिक श्रोत अन्य केहि पनि नभएकोले देश विदेशमा रहेका दानदाताहरुबाट केहि सहयोग प्राप्त भएर शिक्षकहरुको तलब शोधभर्ना गर्न सकेमा अध्ययन अध्यापन कार्यलाई अरु थप टेवा पुग्दथ्यो भन्ने रेग्मीको भनाई थियो ।

कुल ६ वटा कोठा रहेको सो स्कुलको छानो अहिले चुहिने भैसकेको र १ र २ कक्षाका कोठाहरुमा फर्निचर नभएकोले भुईंमा नै बसेर पढ्न बाध्य भएको अवस्था पनि अवगत गराएका थिए । स्कुल परिसरमा पिउने पानीको लागि डिप बोरिङको व्यवस्था भएपनि खानेपानीको लागि टंयाकी नभएकोले पिउने पानीको समस्याको साथै स्कुलको आफ्नै नीजि शौचालय तथा तारबार नभएको अर्को समस्याले गर्दा शिक्षक शिक्षिकाहरुलाई नै धेरै अप्ठेरो परेको कुरा पनि खुलासा गरेका थिए । 


चितवनको भरतपुर स्थित रहेको रारा बैँक शाखाको चल्ती खाता नं. ५८७२ रहेको जानकारी दिँदै यदि कोहि दयालु दानदाताहरुले सहयोग प्रदान गरेमा पदमपुर गा.वि.स. तथा जुटपानी गा.वि.स.को सेरोफेरोमा रहेका सुकुम्बासी बालबालिकाहरुले शिक्षाको उज्यालो घामबाट उर्जा प्राप्त गर्ने थिए भन्ने उनको दावा रहेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.