म कुमारी होइन अविवाहित
लमजुङकी सुमिना घिमिरेले सुर्खेतको बसाइसराइँलाई पनि स्थानान्तरण गर्दै राजधानी आएर नेपाली फिल्म क्षेत्रमा तीन वर्षको करियरमा जति धेरै सफलता र नाम कमाइन्, त्यति नै आफ्ना सम्बन्धमा विवाद र चर्चाको पनि सामना गरेकी छिन् । फिल्ममा करियर बनाउने सिलसिलमा संघर्षका दौरान अनेकन प्रसंगमा विवादमा मुछिएपछि उनको फिल्मी रफ्तार तीव्र गतिमा अगाडि बढ्दै आएको छ । यस क्रममा दुलही नामक एउटै फिल्मबाट चार संस्थाको अवार्ड यिनले पाइसकेकी छिन् ।
शुरूमा तिमी मेरो म तिम्रो नामक फिल्ममा सानो भूमिकामा अभिनय गरेर नेपाली रजतपटमा प्रवेश गरेकी यी २३ वर्षीया कलिली सुन्दरीले जब फोटो सेसन गराइन्, निर्देशक ज्ञानेन्द्र देउजाको नजरमा परिन् । ज्ञानेन्द्रले उनलाई छविलाल कञ्जुस छैनमा हिरोइनका रूपमा डेब्यु गरेपछि सुमिनाले सडक, किन मायामा, दुलही, तिम्रो लागि, माइ ब्रदर, हेलो प्रकृति, रङजस्ता फिल्म लगातार पाइन् । रिलिज भइसकेका यी फिल्मले जस्तो व्यापार गरे पनि सुमिनाको करियरलाई भने अगाडि बढाउनै मद्दत गर्यो । त्यसैले उनका डेढ दर्जनजति फिल्म प्रदर्शनका लागि तयार छन् भने अहिले पनि खाली बस्नुपरेको छैन । फिल्ममा आएको छोटो समयमै गलत मानिसको सल्लाह र संगतले ठूला विवादको सामना गर्दागर्दा परिपक्व भइसकेकी यिनलाई अब त्यस्ता चर्चा र विवादले छुन छोडिसकेको छ ।
‘सानै उमेरमा मैले जति विवादको सामना गरें, जति नकारात्मक कुरा फैलिए, त्यसले मलाई डिस्करेजभन्दा पनि केही गरेरै देखाउनुपर्ने रहेछ भन्ने पारेको छ’, पद्मकन्या क्याम्पसबाट ब्याचलर गर्न भ्याइसकेकी सुमिना भन्छिन्– ‘म केही पाउनलाई यो क्षेत्रमा आएकी होइन, सानैदेखिको रहर पूरा गर्नका लागि यसमा आएकी हुँ । ममीको इच्छा जब गरोस् भन्ने थियो । तर म बच्चैदेखि गाउने नाच्ने स्वभावकी थिएँ, मनमा कलाकार थियो, म जन्मेकै यसकै लागि हो । पढेर अरू पाइलट, डाक्टर, इन्जिनियर हुन्छन्, म हिरोइन भएकी छु । फिल्म क्षेत्र नै मेरो जब भएको छ ।’ सुमिनाको अनुभूति छ– ‘तर यहाँ सोचेजस्तो छैन, धेरै गाह्रो नै छ । जब आफ्ना बारेमा नेगेटिभ कुरा आउँछ, मलाई त फरक पर्दैन, तर परिवारलाई सम्झाउन कठिन हुन्छ । धन्न परिवारको सपोर्ट छ । यो उमेरमा एक्लै हिँडेर यो स्थान बनाएँ, त्यसमा मलाई गर्व छ । फिल्म क्षेत्रमा मेरो फ्यामिलीको मेम्बर कोही छैन, त्यसमा चाहिँ दुःख लाग्छ । कोही भएको भए मलाई यसरी गाह्रो पर्ने थिएन होला ।’
झन्डै तीन दर्जन फिल्ममा अभिनय गर्ने क्रममा सुमिनालाई लागेको रहेछ– ‘सोचेअनुसार रोल पाउँदिनँ । आफैं फिल्म बनाए मात्रै हो । मेरै लागि भनेर फिल्म बनाउने त कोही हुँदैन नि । अहिलेलाई जुनसुकै रोल पनि गर्छु । पछि फिल्म पनि बनाइएला, डाइरेक्सन पनि गरिएला । मैले जानेको फिल्ड नै अब यही हो ।’ सुमिना यस्तो पनि सोच्छिन्– ‘यो फिल्ड ग्ल्यामर फिल्ड हो, त्यसैले फिल्ममा ग्ल्यामर त हुनै पर्छ । तर केही फिल्ममा भल्गारिटी देखियो । एक दुईवटा फिल्म भल्गर भए पनि चल्यो । त्यसमा स्क्रिप्ट पनि त राम्रो थियो । तर यहाँ त भल्गरमाथि भल्गर फिल्म बन्न थाले । कसैकसैले आफैंलाई रातारात हिट बनाउन गर्नै नहुने एक्सपोज पनि गरिदिए । भल्गारिटीकै लागि बनेका फिल्मचाहिँ चल्दैनन्, चलेनन् पनि ।’ त्यसो त सुमिनालाई ग्ल्यामर र देह प्रदर्शनका लागि पछिल्लो पुस्ताकी उदार नायिका पनि भनिन्छ । उनीचाहिँ भन्छिन्– ‘म एक्सपोज गर्दिनँ भन्दिनँ । सारी लाउँदा पनि एक्सपोज गरे लाग्न सक्छ । मैले जति एक्सपोज गरेकी छु, क्योरेक्टरअनुसार गरेको छु । तर अपच हुने खालको एक्सपोज गरेको छैन र गर्दिनँ पनि ।’
पछिल्लो समयका फिल्म यौनमा केन्द्रित हुन थालेका छन् । यसलाई राम्ररी नियालिरहेकी यी दुलही गर्ल भन्छिन्– ‘उपलब्धि हुने भए म सेक्स फिल्ममै पनि अभिनय गर्छु । यदि वल्र्ड रेकर्ड राख्छ भने त्यस्तो फिल्म पनि खेल्छु । नत्र भए फिल्म पाउनकै लागि त्यस्ता फिल्ममा अल्झिने कुरा हुँदैन ।’ नायिकाहरूका सम्बन्धमा कम्प्रोमाइजको प्रश्न सधैं उठ्ने गर्छ, सुमिनाको भने यसमा प्रस्ट विचार रहेछ– ‘अहिलेको जमानामा पनि फिल्म लाइनमा हिरोइनले कम्प्रोमाइज गर्नुपर्छ भन्ने म मान्दिनँ । आ–आफ्नो विचारले रिलेसन राख्ने अर्कै कुरा ।’ भन्छिन् सुमिना– ‘अहिलेको जमानामा जबरजस्ती हुन सक्दैन, मन नमिली केही हुँदैन ।’ सुमिनाको पनि कसैसँग मन मिलेको पो छ कि ? ‘मन त मेरो पनि कसैसँग मिलेको छ’ उनी लजाउँदै हाँसिन् र थपिन्– ‘तर फिल्म लाइनको मान्छेसँग मन मिलेको होइन । हामी अहिले गुड फ्रेन्ड छौं, विस्तारै कुरा मिले रिलेसनसिप पनि हुन्छ ।’
फिल्म क्षेत्रमा भोटो फटाउने कतिपयलाई अहिले पनि दुई छाक टार्न मुस्किल छ । यी लमजुङे युवतीले भने फिल्ममा काम गर्न थालेको तीनै वर्षमा शंखमूलमा ७छ लाख रुपियाँ मूल्यको घर जोडेकी छिन्, कसरी सम्भव भयो यो ? ‘यो घर मैले मात्र किनेको होइन, दादा, बाबा, ममी, दिदी र मैले फिल्ममा काम गरेर पाएको लगानी छ यसमा छ । फाइनान्सको सहयोग पनि लिएका छौं’, सुमिना अलिकति सन्किइन्– ‘बाहिरी मान्छे कसैको लगानी छैन । यदि कसैले भएको प्रमाणित गरिदिए फिल्म लाइन नै छोडिदिन्छु ।’
केही अगाडि मात्र उनी निर्माता रमेश संवेदनाका साथ मलेसिया गएपछि गसिप गर्ल पनि बनिन् । कामनाले यसलाई पनि प्रश्न बनायो । उनले चाहिँ जवाफ दिइन्– ‘विश्वास गर्नुस् डेटिङमा गएको होइन । पासपोर्टमा विभिन्न देशको भिसा देखियोस् र आफूले खेलेको फिल्मको प्रमोसन पनि होस् भनेर उहाँसँग मलेसिया गएको हुँ । उहाँ प्रड्युसर म नायिका हाम्रो रिलेसन त्यति हो ।’ उनको बारेमा अर्को गसिप पनि छ– सुमिनाले पहिले नै बिहे गरिसकिन् रे ? सुमिनाले भने यसलाई पनि अस्वीकार गरिन् । भनिन्– ‘यो हुँदै नभएको मलाई टेन्सन हुन्छ । म अविवाहित हुँ । बिहे भए त प्रमाण पनि हुन्छ नि ।’ उनी फेरि उत्तेजित भइन्– ‘आज बिहे भइसक्यो भन्लान् भोलि ल सुमिनाको बच्चा जन्मियो भन्लान् रे । यस्तो भन्नेहरूको मुख कसले थुन्ने ?’ फेरि जिस्क्याउँदै अविवाहित कि कुमारी भन्नासाथ उनी मज्जाले हाँसिन् अनि भनिन्– ‘म कुमारी होइन अविवाहित हो । अविवाहित भनौं न कुमारी किन भन्ने होइन ?’
0 comments
Write Down Your Responses