कम्युनिस्ट नेताबीच वाक्युद्ध
काठमाडौं, १२ वैशाख । दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत माओवादी र एमालेबीच चुनाव केन्द्रित वाक्युद्ध सुरु भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि बर्दिया पुगेर एमाले सकिएको अभिव्यक्ति दिएलगत्तै बुधबार एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले दाहालको मानसिक अवस्था ठीक नभएको भन्दै जवाफ फर्काएका छन् ।हेलिकोप्टर चाटर्ड गरेर बर्दियाको पार्टी कार्यक्रममा पुगेका एमाओवादी अध्यक्ष दाहालले आउने चुनावमा आफ्नो प्रतिस्पर्धा कांग्रेससँग हुने भन्दै एमाले मुलुकमा कतै नरहेको बताएका थिए । बुधबार राजधानीमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष खनालले दाहालको भनाइ पागलपनको पराकाष्ठा भएको आरोप लगाए ।
अध्यक्ष खनालले अब हुने चुनावपछि एमाओवादीलाई बत्ती बालेर खोज्नुपर्ने टिप्पणी पनि गरे । ‘एमाले छैन भन्ने एमाओवादीको भनाइ पागलपनको पराकाष्ठा हो,’ खनालले भने, ‘यही रबैया रह्यो भने आगामी निर्वाचनपछि उसलाई बत्ती बालेर खोज्नुपर्छ ।’ खनालले जिम्मवार पार्टीको नेता भएर आबेग र उत्तेजनाको राजनीति नगर्न पनि दाहाललाई सुझाव दिए ।
एमाओवादीले अघिल्लो चुनावमा ब्ल्याकमेलिङ गरेका आधारभूत वर्गले उसलाई चिनिसकेकाले जातीय राजनीतिको बैसाखी टेकेर एमाले सिध्याउने सपना नदेख्न खनालले एमाओवादी अध्यक्ष दाहाललाई चेतावनी दिए । ‘एमाओवादी मधेसी मोर्चाको बैसाखी टेकेर निर्वाचन लड्ने तयारीमा छ,’ खनालले भने, ‘हिम्मत भए एक्लै मैदानमा आओस्, एमाले पनि एक्लै भिड्छ ।’ मुलुकको विभाजन गर्नेगरी विखण्डनकारी र संकीर्णतावादी शक्तिहरूसँग एमाओवादीले मोर्चाबन्दी गरे लोकतन्त्र र संविधान लेखनका लागि लोकतान्त्रिक तथा प्रगतिशील शक्तिसँग एमालेले पनि तालमेल गर्ने उनले बताए ।
खनालले यसअघि भएको संविधानसभा चुनावमा २७ वटा शिविरबाट लडाकु बाहिर आएर जनतालाई धम्क्याएर माओवादीले चुनाव जितेको दाबी गर्दै यसपालि उसलाई जनताले देखाइदिने चेतावनी दिए । उनले एमाओवादी सुक्ख्खा पहिरोजस्तो गरी आएको र पहिरोजस्तै गरी तल झर्ने दाबी गरे । एमाओवादीलाई धुन्धुकारीको संज्ञा दिँदै खनालले १६ हजार नेपालीको अनाहकमा ज्यान लिएपछि एमालेको बाटोमा आउन बाध्य भएको बताए । एमाओवादीले विखण्डनकारी, राष्ट्रविरोधी र उग्रवामपन्थी सोच नत्यागेसम्म उसँग सहकार्य हुन नसक्ने बताए ।
त्यस्तै, बुधबार नै सर्लाही पुगेका एमाले वरिष्ठ नेता नेपालले पनि एमाओवादी अध्यक्ष दाहाललाई एमाले नै नदेख्ने मानसिक रोग लागेकाले उपचारार्थ राँची लैजानुपर्ने टिप्पणी गरे । मुलुकमा एमाले नभएको दाहालको भनाइबाट आक्रामक देखिएका नेपालले पूर्वराजा ज्ञानेन्द्रले जनताको शक्ति नदेखेर अन्धो बन्दा विनाश बेहोर्नुपरेको उदाहरण दिए ।
‘एमाले कहाँ छ भन्ने थाहा नपाउनेसम्मको मानसिक रोगका शिकार भएका नेता यहाँ छन्,’ नेपालले भने, ‘अब तिनलाई मानसिक उपचारका लागि राँची पठाउनुपर्छ ।’
नेता नेपालले एमालेलाई अन्धाले नदेख्ने, बहिराले नसुन्ने र बौलाहाले नबुझ्ने बताए । ‘जनताको शक्ति नदेख्दा पूर्वराजाले आफ्नो शासनको सर्वनाश बेहोर्नुपर्यो, अहिले केहीलाई त्यही रोग सरेको छ, आउने चुनावबाट उसको पनि सर्वनाश हुनेवाला छ । उसले सत्तामा बसेर गरेका कर्तुतहरूको एक–एक हिसाब जनताले गरिरहेका छन्,’ नेता नेपालले भने ।
आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार दाबी गर्दै आएका एमाले र एमाओवादी चुनाव घोषणाको पूर्वसन्ध्यामा वाक्युद्धमा उत्रेका हुन् । शान्तिपूर्ण जनआन्दोलनबाटै परिवर्तन र सरकारमार्फत प्रगतिशील सुधारका काम गर्ने कार्यनीतिमा रहँदै आएको एमाले र सशस्त्र संघर्षबाट मात्रै आमूल परिवर्तन हुने विश्वासमा रहेको एमाओवादीबीच आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार देखाउने होड चल्दै आएको छ ।



0 comments
Write Down Your Responses