हाजिर नपुगे एसएलसी छुट्ला !

काठमाडौं, १२ वैशाख । यस वर्ष एसएलसी परीक्षाका लागि फाराम भरेका विद्यार्थीबाट ३५ हजार घटेका छन् । फाराम भरे पनि ७५ प्रतिशत हाजिरी नपुग्दा चैत महिनामा भएको परीक्षा दिन २० हजारभन्दा बढी विद्यार्थी अयोग्य ठहरिएको तथ्यांक हालै सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा १५ हजार परीक्षार्थी अनुपस्थित थिए ।
slcकक्षामा ७५ प्रतिशत हाजिर नपुगेका २० हजार ४ सय ५० विद्यार्थी अयोग्य ठहरिई उनीहरू एसएलसी दिन वञ्चित भएका हुन् । शिक्षा मन्त्रालयले २०६८ सालदेखि एसएलसीमा नियमिततर्फ विद्यार्थीको हाजिरी ७५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रक खगराज बरालले फाराम भरे पनि ७५ प्रतिशत हाजिर नपुगेका त्यस्ता विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरिएको जानकारी गराएका छन् । ‘कक्षामा ७५ प्रतिशत हाजिर भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउँछन्,’ बरालले भने, ‘फाराम भरे पनि ती विद्यार्थीले हाजिर नपुगेकाले परीक्षा दिन नपाएका हुन् ।’
जिल्ला शिक्षा कार्यालयहरूले ढिलो विवरण पठाउँदा हालै मात्र वास्तविक तथ्यांक बाहिर आएको हो । विद्यार्थीलाई टेस्टमा फेल गर्न नपाइने भएकाले हाजिरीको अनिवार्य व्यवस्था गरिएको बरालले बताए ।
उनका अनुसार यसपटक सबभन्दा बढी झापाबाट १ हजार २ सय ७६ विद्यार्थी परीक्षा दिन अयोग्य ठहरिएका छन् । बाजुराबाट कोही पनि अयोग्य ठहरिएका छैनन् । बाजुराबाट सबै विद्यार्थीको ७५ प्रतिशत हाजिरी पुगेको छ । सबैभन्दा कम डोल्पाबाट ४ जनाले एसएसली दिन पाएनन् ।
करिब ३५ हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षार्थी संख्या घट्न पुगेको छ । परीक्षा नियन्त्रक बरालले ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थीले फाराम भरेको भए पनि केही विद्यार्थी परीक्षामा सहभागी नभएकाले विद्यार्थी संख्या घटेको बताए । ‘केही विद्यार्थी हाजिर नपुगेर अयोग्य भए केही अनुपस्थित भएका छन्,’ उनले भने, ‘त्यसैले फाराम भरेका सबैले परीक्षा दिन पाएनन् ।’
उनका अनुसार करिब ५ लाख १७ हजार जना विद्यार्थीले मात्र परीक्षा दिएका छन् । दोहोरो रजिस्ट्रेसन परीक्षा फाराम भरेका ३ सय ४४ परीक्षार्थीको परीक्षा रद्द गरेको थियो ।
जेठ अन्तिममा रिजल्ट
परीक्षा नियन्त्रण कार्यालयले ६० वटा डिपोमा कापी परीक्षण गर्ने कार्य भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक बरालले जेठको अन्तिम साता परीक्षा फल प्रकाशित गर्नेगरी उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी गराए । परीक्षा भएको ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने प्रावधानअनुसार पनिकाले काम गरिहेको छ । चैत १ देखि ९ गतेसम्म भएको परीक्षामा १ हजार ७ सय ८६ परीक्षा केन्द्र रहेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.