हेमजामा आलुको होली !


२३ चैत, काठमाडौं । होली सकिएको १० दिनपछि कास्कीको हेमजामा छुट्टैखाले होली खेलिएको छ । चौथो आलु महोत्सव अन्तर्गत शुक्रबार आयोजक र सहभागीहरुले आलुको होली खेलेर रमाइलो गरेका हुन् । महोत्सवको आयोजक विष्णुपादुका युवा क्लवका अनुसार उसिनेको आलु मुछेर लेदो बनाई त्यसमा बिभिन्न प्रकारका रंग मिसाई होली खेल्ने व्यवस्था मिलाइएको हो । आलुको होली खेल्नकै लागि शुक्रबार बिदेशी पर्यटक सहित पोखरा र आसपासका बासिन्दा हेम्जा पुगेका छन् । दिउँसो होली सकेपछि हेमजामा बेलुकी लाइभ कन्सर्टको पनि आयोजना गरिएको छ । तीन दिनदेखि शुरु भएको आलु महोत्सवमा ३० लाख रुपैंयाको आलु कारोबार भैसकेको आयोजकले जनाएको छ । महोत्सवमा झण्डै सानो घरजत्रो आलुको थुप्रो देखेर दंग पर्ने मान्छे पनि उत्तिकै छन् । महोत्सवमा आलुसँगै आलुका बिभिन्न परिकार र अरु कृषि उत्पादन पनि प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । ‘सुन्दर गाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.