सिन्धुलीमा पानीको हाहाकार

सिन्धुली, २९ चैत । जिल्लाको कमलामाई नगरपालिकाका विभिन्न गाउँमा खानेपानीको हाहाकार हुन थालेको छ । नगरपालिकाका ३, ४, ५, ६, ८, १३ लगायत गाउँमा बढ्दै गरेको गर्मी र जंगलमा लागेको डढेलोका कारण खानेपानीका मुहान सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको हो ।
नगरपालिकाको वडा नम्बर ५ का सातपत्रे, देउराली, ढकालगाउँ, रायोडीलगायत ठाउँमा पानीको हाहाकार भएको ढकालगाउँकी सुनिता शर्माले बताइन् । नगरपालिकाको वडा नम्बर ४ को मधुटार, सिलामे, ऐसेलु जँघार, रानीखोला, बोझे, जरायोटारलगायत गाउँमा पनि पानीको कमी हुन थालेको सामाजिक परिचालक ईश्वरीमाया श्रेष्ठले जानकारी दिइन् । कमलामाई नगरपालिका वडा नम्बर ६ का जसेदमार, नुनथला, अँधेरी, हुसेपाखालगायत गाउँमा पनि पानीको हाहाकार भएको अँधेरी निवासी मायादेवी कार्कीले बताइन् । लामो समयदेखि पानी नपरेको र जिल्ला सरकारी तथा सामुदायिक वनमा डढेलो लागेका कारण मुहान सुक्न थालेपछि पानीको अभाव हुन थालेको सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए । नगरपालिकाका ४, ६, ७ र ९ लगायत बजार एरियामा खानेपानी व्यवस्था गर्ने संस्था सिद्धेश्वर खानेपानीले मुहान सुकेको र नयाँ मुहान फेला नपरेकाले पनि खानेपानी समस्या पूर्ण हल गर्न नसकिएको श्रेष्ठले बताए ।
कमलामाई नगरपालिका गाउँका साना मुहान, कुवा, इनार सुकेकाले टाढा–टाढाका खोल्सामा पानीको मुहान पुगेर पानी खानुपर्ने बाध्यता रहेको उपभोक्ता मायादेवी कार्कीले बताइन् । उनका अनुसार लामो समयदेखि पानी खाँदै आएका मुहान सुकेपछि स्थानीयवासी भाँडा बोकेर खोल्सामा पानीको मुहान खोज्दै हिँड्न थालेका छन् । निकै वर्ष अघिदेखि प्रयोग गर्दै आएको खानेपानीको स्रोत सुकेकाले समस्या भएको रायोडिका श्रीबहादुर डिम्दोङ बताए ।
त्यसैगरी, चुरे क्षेत्रको जंगलमा आगलागी भएपछि त्यस क्षेत्रका गाउँमा पनि खानेपानीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । कमलाखोंच, मरिण क्षेत्रमा पनि पानीको समस्या भएको छ भने तीनपाटन क्षेत्रका बेलघारी ६, छरछरे, तिरतिरे, जखनी, भीमस्थानको कोटगाउँ, सिपाली, राम्चेलगायत गाउँमा पनि खानेपानीको समस्या भएको बेलघारीका चण्डीबहादुर खत्रीले बताए ।
-सौर्य दैनिक 

0 comments

Write Down Your Responses

Powered by Blogger.