समाचार
»
अभिभावकको घर नजाने शिक्षकको बढुवा रोक्का
अभिभावकको घर नजाने शिक्षकको बढुवा रोक्का
५ वैशाख, काठमाण्डौं । नयाँ शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका शिक्षक तीन/तीन महिनामा अनिवार्य रूपमा विद्यार्थीको घरमा पुगी उनीहरूले हासिल गरेको शिक्षाबारे अभिभावकलाई जानकारी गराउनुपर्ने भएको छ । अभिभावकका घर नगई शैक्षिक अवस्थाबारे जानकारी नगराउने शिक्षकमाथि ग्रेड रोक्कादेखि बढुवा रोक्कासम्म गरिने भएको छ । विद्यार्थी सिकाइको अवस्थाबारे अभिभावकलाई जानकारी गराउन शिक्षक अनिवार्य रूपमा तीन महिनामा एक पटक विद्यार्थीको घरमा जानुपर्ने भएको हो । शिक्षा विभागले मुलुकभरका जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयहरूलाई पत्राचार गर्दै विद्यार्थीको सिकाइ, उपलब्धि र अवस्थाबारे जानकारी दिन अनिवार्य गरेपछि शिक्षकहरू विद्यार्थीको घर पुग्नैपर्ने भएको हो । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको घट्दो आकर्षण क्रमिक रूपमा बढाउन शैक्षिक सुधारका लागि शिक्षकलाई विद्यार्थी र अभिभावकप्रति जिम्मेवार बनाउन लागिएको बताए । ‘शिक्षकले अभिभावकको घरमा गएर पारिवारिक अवस्था र विद्यार्थीले विद्यालयमा सिकेको सिकाइबारे जानकारी लिने÷दिने गर्नेछन्, यसले शैक्षिक गुणस्तर बढ्ने विश्वास लिएका छौं,’ डा. अवस्थीले भने । शिक्षा विभागले यस वर्षलाई सिकाइ वर्षका रूपमा अगाडि बढाउने योजना बनाएको छ । विद्यार्थीप्रति शिक्षकलाई थप जिम्मेवार नबनाएसम्म सिकाइमा उपलब्धि आउन नसकेकाले सिकाइ वर्षका रूपमा अगाडि बढाउन लागिएको विभागका निर्देशक टेकनारायण पाण्डेले बताए । निर्देशक पाण्डेका अनुसार मुलुकभरका सबै विद्यालयलाई अनिवार्य रूपमा वार्षिक सिकाइ योजना पेस गर्न निर्देशन दिइएको छ । विद्यार्थी सिकाइलाई उपलब्धिमूलक बनाउन प्राथमिक तहको १ कक्षादेखि ३ कक्षासम्मलाई जोड दिइएको राजधानी दैनिकमा खबर छ । ती कक्षामा एकजना शिक्षकलाई मात्र जिम्मेवार गराइने भएको छ । १ देखि ३ कक्षासम्म भिन्न–भिन्न शिक्षक हुँदा विद्यार्थीले आवश्यकताअनुसारको सिकाइ सिक्न नसकेका कारण एक शिक्षक मात्र राख्ने योजना बनाएको विभागले जनाएको छ । निर्देशक पाण्डेले एउटै कक्षामा धेरै शिक्षक हुँदा शिक्षकहरूले पनि विद्यार्थीको क्षमताबारे पूर्णरूपमा जानकारी लिन नसक्ने भएकाले एक शिक्षक मात्र राख्न मातहतका निकायलाई निर्देशन र पत्राचार गरिसकेको जानकारी दिए । स्रोतव्यक्ति, विद्यालय निरीक्षक, अभिभावकलाई अनिवार्य रूपमा शिक्षकले विद्यार्थीको सिकाइका बारेमा पूर्ण रूपमा जानकारी गराउनुपर्छ । विद्यार्थीको सिकाइ उपलब्धिलाई जोड दिन शिक्षकलाई आवश्यकताअनुसारको तालिम दिइनेछ । प्राथमिक तहमा सिकाइ उपलब्धि ४० प्रतिशत मात्र भएकाले त्यसलाई बढाएर ६० प्रतिशत पु¥याउने योजना विभागको छ । जिशिकामा विद्यालयले सिकाइ उपलब्धिका लागि ठोस योजना पेस गर्नुपर्नेछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses