आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा !

८ जेठ, काठमाडौं । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने………..। चिन्ता नगर्नुस्, यस्तै घटना व्यहोरेका एक दम्पत्तीले आफ्नो ७ महिने बालकलाई सकुशल भेट्टाएका छन् । घटना हो, मंगलबार रातिको । रुपन्देहीको बुटवल नगरपालिका ११ मिलनटोलका विकास मित्तल र ममता मित्तल आफन्तको बिहेभोज मानेर काठमाडौंबाट घर फर्कँदै थिए । रिजर्ब गरिएको लु १ ख ६९४७ नम्बरको बसमा सबै मित्तलकै आफन्त थिए । रातिको समयमा बस आफ्नै सुरमा गुड्दै थियो । दुई दिनसम्म बिहेको दौडधूप र गर्मीका कारण सबै थकित थिए । झ्याल खोलेर हावा लिँदै उनीहरु उँघ्न थाले । मित्तल दम्पत्तीको साथमा ७ महिने छोरो पनि थियो । पहिलो सन्तान, त्यसमाथि छोरो । छोरो खेलाउँदै रहेका उनीहरुलाई पनि निद्रा लाग्यो । आमा ममताको काखमा रहेको छोरो निदाउन थाल्यो । छोरो निदाएपछि बाबुआमा पनि सिटमै निदाए । बुधबार बिहान ६ बजेतिर बस मुग्लिङ कटेर नवलपरासीको दलदलेमा पुग्यो । त्यहाँ सवारी जाम भएकाले बस रोकियो । हल्लाखल्ला भएपछि बसभित्र सिटमा निदाएका यात्रु बिउँझिए । मित्तल दम्पत्तीको पनि आँखा खुल्यो । आँखा खुल्ने बित्तिकै दुवैजना झसँग भए, काखमा रहेको छोरो छैन । अरु आफन्तको सिटमा गयो कि भनेर अघिपछि हेरे । तर अहँ छोरो देखिँदैन । बसभित्र खैलीबैली भयो । सिटमुनी कतै खेल्दैछ कि भनेर सबैले यताउता हेरे । बालक कतैपनि छैन । सबैजना रोइकराई गर्न थाले । पक्कै झ्यालबाट खस्यो, लौ के भयो……भन्दै सबै डराए । हतारहतार बस फर्काएर उनीहरु नवलपरासीबाट काठमाडौंतिर फर्किए । प्रहरीलाई छुट्टै तनाव चितवनको फिस्लिङ नजिकै सुनसान राजमार्ग । वरपर नजिक वस्ती छैन । जंगल र झाडी मात्र । रातको साढे १२ बजे त्यस्तो सुनसान ठाउँको सडक कुनामा एउटा बच्चा रोइरहेको छ । काठमाडौंबाट नारायणघाटतिर गैरहेका एक ट्रक चालकले त्यो दृश्य देखे । उनले ट्रक रोके । बच्चालाई बोके र नजिकै मझिमटार प्रहरी चौकीमा लगेर बुझाए । सुनसान जंगलमा भर्खरको बच्चा भेटिएको खबर पाएर प्रहरी पनि झसँग भए । ‘त्यो ठाउँ बढी दुर्घटना हुने र कसैकसैले आत्महत्या गर्ने गरेको क्षेत्र पनि हो, त्यसैले हामीले धेरै कोणबाट आशंका गर्यौं’ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले अनलाइनखबरसित भन्नुभयो-’हामीले रातभर अनुसन्धान गर्यौं, तर यो दुवै घटना भएको देखिएन ।’ कसैले अपहरण गरेर छोडेको हो कि भन्ने प्रहरीले आशंका गर्यो । त्यसपछि धादिङका सबै प्रहरी कार्यालय र चितवनमा समेत राति नै यस घटनाको जानकारी गराउने काम भयो । बच्चालाई चाहिँ जोगिमारा ल्याएर राखियो । ‘त्यहाँ पुग्दासम्म बच्चा रोइरहेको थियो, तर महिला प्रहरीले स्याहार गर्न थालेपछि उ चुप लाग्यो, त्यहाँ उसलाई खानेकुरा खुवाउने र सुताउने काम गरियो’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो । रातिसम्म पनि बच्चाको बारेमा केही थाहा नभएपछि उसलाई बुधबार सबेरै इलाका प्रहरी कार्यालय गजुरी पुर्याइयो । ६ घण्टापछि भेटे बाबुआमाले नवलपरासीको दलदलेमा पुगेपछि मात्र छोरो हराएको पत्तो पाएका बाबुआमा र आफन्त बुधबार बिहान रुवाबासी गर्दै मुग्लिन आइपुगे । त्यहाँ प्रहरीलाई घटनाको बेलिबिस्तार लगाए । फिस्लिङ नजिकै सडकमा राति एउटा बच्चा बेबारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले थाहा पाइसकेका थिए । पक्कै यिनीहरुकै बच्चा हुनुपर्छ भनेर प्रहरीले गजुरीमा पठाइदिए । हतार हतार गजुरी पुग्दा मित्तल दम्पत्तीले देखे-सानो छोरो प्रहरीसित खेलिरहेको । हर्षले सबैका आँखा रसाए । छोरोलाई काखमा लिएर म्वाई खाए । बाबुआमाको काख पाएपछि बालक पनि दंग पर्यो । उनीहरुले प्रहरीलाई धन्यवाद दिए । प्रहरीले बच्चालाई यसरी खेलाँची नगर्न सचेत गरायो । गुडिरहेको बसबाट खस्दा समेत बच्चा सकुशल भेटिएकोमा प्रहरी, बाबुआमा र आफन्त सबै चकित भएका छन् । ‘मोड भएकाले बसको स्पिड कम भएको हुनुपर्छ, अनि झ्याल खुलै भएकाले बस कोल्टँदा अथवा आफ्नो सुरले खेल्दा बच्चा खसेको हुनसक्छ’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो-’हामीले यस्तो घटना पहिलोपटक भोग्यौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.