मेरो पेस्तोल सरकारले लग्यो : वैद्य ‘सबै हतियार प्रचण्डसँगै छन्’

२४ चैत, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूसित रहेको एउटा पेस्तोल प्रहरीले खोसेर लगेको अनलाइनखबरलाई जानकारी दिनुभएको छ । सरकारले हतियार बुझाउन आग्रह गरे पनि आफूसित हाल एउटा पनि हतियार नभएको उहाँले स्पष्टीकरण दिनुभएको छ ।
Mohan-Baidya--kiran
‘मेरो एउटा पेस्तोल थियो । मेरो गार्डले बाहिरजाँदा लगेर गएको रहेछ, प्रहरीले पक्ड्यो । हामीले यो हतियार यस्तो यस्तो हो भनेपछि फर्काउनुपर्ला त भनियो । तर, उनीहरुले फर्काएनन् ।’ अध्यक्ष वैद्यले आनलाइनखबरसँग भन्नुभयो- ‘विशेष समितिमा पनि यसबारे कुरा भयो । तर, मलाई त्यो हतियार दिँदै दिएनन् । यसबारेमा मैले प्रचण्डजीलाई पनि भनेको थिएँ, उहाँलाई पनि थाहा छ ।’
नेपाल सरकारले ३२ थान हतियार माओवादीका साथमा रहेको भन्दै बैसाखभित्र बुझाइसक्न उर्दी गरेपछि अध्यक्ष वैद्यको यस्तो प्रतिक्रिया आएको हो । शनिबार बिहान आफ्नै निवासमा आनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीसँग एउटा पनि हतियार नरहेको हुनाले यसको प्रष्टीकरण प्रचण्डले नै सरकारलाई दिनुपर्ने बताउनुभयो ।
‘सबै हतियार प्रचण्डजीमार्फत बुझाइएको हो । प्रचण्डजीले के कति बुझाउनुभयो, त्यो मलाई थाहा हुने कुरा भएन । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मसँग एउटा पनि हातियार छैन । त्यसैले यसको प्रष्टीकरण प्रचण्डले नै दिनुपर्छ ।’
सरकारले एमाओवादी र माओवादी नेताहरुसँग ३२ थान हतियार रहेको भन्दै ती हतियार बुझाउन बैशाख मसान्तसम्मको समय दिएको छ । बैशाख मसान्तसम्म हतियार नबुझाएमा गैरकानुनी ठहर गरी कार्वाही गरिने सरकारले बताइसकेको छ । सेना समायोजन विशेष समितिले गरेको निर्णयलाई सदर गर्दै सरकारले माओवादी नेताहरुसँग रहेका हतियार बुझाउन निर्देशन दिएको हो ।
काठमाडौंमै २७ थान हतियार
सरकारले माओवादी नेताहरुसँग ३२ थान हतियार रहेको भने पनि सैनिक स्रोतका अनुसार माओवादीसँग रहेका ३८ थान हतियार सरकारले प्राप्त गरेको छैन् । तीमध्ये कुनै नेताहरुको सुरक्षाका लागि राखिएका छन् भने केही हतियारको बारेमा सेनालाई समेत थाहा छैन ।
कहाँ कति ?
इलामको शिविरबाट ३ सय ५८ थान हतियार बुझाउनुपर्नेमा ३ सय ५५ थान मात्र बुझाइएको छ । त्यहाँका ३ थान हतियार बाँकी छन् । चितवनको शिविरमा रहेका ७ सय ५६ थान हतियारमध्ये ७ सय ५३ थान मात्रै बुझाइएका छन् । त्यहाँका ३ थान हतियार पनि माओवादीसँगै छ । रोल्पाको शिविरमा रहेका ४ सय ८४ हतियारमध्ये ४ सय ८२ थान मात्रै बुझाइएको छ । एकथान आउन बाँकी छ भने अर्को एकथानबारे थाहा हुन सकेको छैन ।
सुर्खेतमा भने तीन थान हतियारको अझै पत्तो लागेको छैन । त्यहाँको शिविरमा रहेका ५ सय ३७ थान हतियारमध्ये ५ सय ३४ हतियार मात्रै सरकारलाई बुझाइएको छ । बाँकी ३ थान हतियारबारे अझै पत्तो लागेको छैन । काठमाडौंमा नेताहरुको सुरक्षामा रहेका २७ थान हतियार अहिले पनि माओवादीसँगै छन् ।
सिन्धुली, नवलपरासी र कैलालीलबाट भने सबै हतियार सरकारलाई बुझाइएका छन् । सिन्धुलीमा २ सय ४१, नवलपरासीमा ६ सय ३० र कैलालीमा ४ सय २२ थान हतियार थिए । त्यहाँका सबै हतियार सरकारको नियन्त्रणमा आइसकेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.