फिल्मको पर्दा र यथार्थमा ग्ल्यामरस देखिने हिरोइनहरु निकै खर्चालु छन्। फिल्म र म्युजिक भिडियोबाट कमाउने उनीहरुको खर्च कहिलेकाहीँ आम्दानीभन्दा बढी हुने गर्छ। 'कलाकार भएर आफ्नो जीवनस्तर सम्हाल्न गाह्रो हुने रहेछ। कमाइ र खर्चमा आकाश-जमिनको अन्तर हुन्छ,' अभिनेत्री झरना बज्राचार्य भन्छिन्। नेपाली फिल्ममा १६ वर्ष बिताइसकेकी उनको मासिक खर्च ४२ हजार रुपैयाँको हाराहारी छ। आफ्नो कमाइले उनले गाडीमात्र जोड्न भ्याएकी छिन्।
'आफूलाई आवश्यक पर्ने ल्यापटपदेखि मोबाइल किन्छु, बाँकी कमाइ घरमै बुझाउँछु,' उनले भनिन्।
स्कुटी र गाडी हाँक्दा उनको महिनामा १० हजारको तेल सकिन्छ। दुवैको सर्भिसिङलाई उनी तीन हजार रुपैयाँ छुट्याउँछिन्। त्यस्तै पार्लरमा थ्रेडिङ र फेसियलका लागि तीन हजार खर्च हुन्छ। अरु कस्मेटिक सामग्रीमा उनको तीन हजार मासिन्छ। पर्समा दुई हजार र एटिएम बोक्ने उनी एकपटकमा १० हजार रुपैयाँसम्मको लुगा किन्ने गर्छिन्। त्यस्तै किताबमा तीन हजार, बाहिर चिया खाँदा र खुवाउँदा मासिक १५ हजार र मोबाइल फोनमा चार हजार रुपैयाँ खर्च हुन्छ उनको। कमाइको स्रोत भने फिल्म, म्युजिक भिडियो, फेसन शो, विज्ञापन र हालै खोलेको ध्यान केन्द्र हुन्। आजसम्म उनले ऋणचाहिँ लिएकी छैनन्।
अभिनेत्री रेखा थापा महिनामा ५० हजार खर्चको छेउछाउ खर्च गर्छिन्। उनले गाडीको तेलमा सात हजार र सर्भिसिङमा तीन हजार छुट्याउँदै आएकी छन्। 'खर्चको हिसाबकिताव कहिल्यै राख्ने गरेको छैन। बरु अर्कालाई दिएको १५ लाख उठाउन बाँकी छ,' उनले भनिन्। १२ वर्षे फिल्म यात्राको कमाइले उनले अपार्टमेन्ट, जग्गा र गाडी जोड्न भ्याएकी छन्। खर्च घटाउन उनी प्रयासरत् छिन्। खानामा उनको मासिक खर्च १३ हजार हुन्छ। तीनवटा मोबाइलको खर्च जोड्न भ्याएकी छैनन्। अमार्टमेन्टको बत्ती र केबुलका लागि एक हजार र सुरक्षामा महिनाको चार हजार तिर्छिन् उनी। एउटा फिल्ममा खेलेवापत् उनको पारिश्रमिक साढे ३ देखि चार लाख रुपैयाँसम्म हुने गर्छ।
मोडल तथा अभिनेत्री प्रियंका कार्कीको मासिक खर्च २० हजारमात्रै छ। दुई वर्षे फिल्म यात्रामा स्कुटर किनेकी उनले केही बचत पनि गरेकी छन्। फिल्म, विज्ञापन, एमसी, म्युजिक भिडियो लगायतका काम उनको कमाइको स्रोत हुँदै आएको छ। स्कुटरमा तेल हाल्न चार हजार र मोबाइलमा एक हजार खर्च हुन्छ उनको। पर्समा भने कार्ड र तीन हजार जति पैसा बोक्छिन्। पार्लर कम जाने उनको खर्च दुई सयमात्र छ। 'कलिउड' फिल्मको प्रिमियरमा कतार पुग्दा उनले १५ हजारको कस्मेटिक सामान किनेकी थिइन्। '३५ सयको फाउन्डेसन भारतबाट मगाउने गरेकी छु । त्यसले आठ महिना पुग्छ। पर्फ्युम अमेरिकाबाट आउँछ,' उनले भनिन्।
सगरमाथा चढ्ने तयारीमा रहेकी निशा अधिकारी हरेक महिना लगभग ७५ हजार खर्च गर्छिन्। बैंकबाट ऋण लिएर गाडी किनेकी छन्। महिनामा आठ हजारको तेल सकिन्छ। बैंकलाई २३ हजार को किस्ता तिर्छिन्। फिल्मबाट तीन लाख लिने उनको शृंगारपटारमा चार हजार रुपैयाँ सकिन्छ। लुगा र जुत्तामा २० हजार लाग्छ । रेस्टुरेन्ट जाँदा उनको दैनिक सात सय रुपैयाँ खर्च हुन्छ। मोबाइलमा २५ सय रुपैयाँको बिल उठ्छ।
अभिनेत्री केकी अधिकारीले कमाइबाट स्कुटी र कोठामा सामानहरु किन्न भ्याएकी छन्। उनको महिनावारी ४० हजार खर्च हुन्छ। चार हजारको तेल र तीन हजारको सर्भिसिङ खर्च हुन्छ। उनले कलेजको पैसा तिर्नुपरेको छैन। 'एकपटकमा लुगा र जुत्ता गरेर २० हजारसम्म खर्च हुन सक्छ। बाहिर खासै खान्नँ, मोबाइलमा तीन हजार खर्च हुन्छ,' उनले भनिन्। फिल्म, म्युजिक भिडियो र विज्ञापनबाट उनी कमाउँछिन्।
अभिनेत्री ऋचा शर्मा महिनामा चार हजार रुपैयाँ ट्याक्सी चढेर सक्ने गर्छिन्। उनको मासिक खर्च ३५ हजार हुने गर्छ। उनी घरको किनमेलमा १० हजार सिध्याउने गर्छिन्। आफूले जोडेको स्कुटी उनले बेचिसकेकी छिन्।
'फिटकिरी' खेलिरहेकी दिया मास्केको महिनामा ३० हजार हाराहारीमा खर्च हुन्छ। स्कुटीको तेल र सर्भिसिङमा ६ हजार सकिन्छ। पार्लर कम जाने उनको कस्मेटिक र पार्लर खर्च १४ हजार नजिक पुग्छ। मोबाइलमा चाहिँ दुई हजारको बिल उठ्छ। स्टेज शोमा ३० हजार र फिल्ममा एक लाख लिने गर्छिन् उनी।
अभिनेत्री निता ढुंगानाको ट्याक्सी खर्च आठ हजार हुन्छ। उनको महिनाको खर्च ३० हजार नाघ्छ। एकपटक पार्लर जाँदा १५ हजार र कस्मेटिक सामानमा १५ सय रुपैयाँ खर्च गर्ने गरेकी छिन्।
'चपली गर्ल' बिनिता बरालको खर्च पनि थोरै छैन। उनी महिनामा ३८ हजार खर्च गर्छिन्। स्कुटीको तेल र सर्भिसिङमा पाँच हजार खर्च हुन्छ। हप्तामा एकपटक पार्लर पुग्ने उनले दुई हजार खर्च हुने बताइन्। फिल्मबाट दुई लाख र भिडियोबाट ३० हजार लिने गर्छिन् उनी।
अभिनेत्री सुमिना घिमिरेको महिनाको खर्च ६७ हजार हुन्छ। उनलाई स्कुटीमा तेल हाल्न १० हजार लाग्ने गरेको छ। प्रायः बाहिर खाने गरेकी उनको दिनमा १५ सय खानामा खर्च हुन्छ। उनको पारिश्रमिक २ लाखको हाराहारीमा छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
नेपाली कुन हिरोइनले कति खर्च गर्छिन् ?
0 comments
Write Down Your Responses