मान्छेसँग हार्यो गोही

अस्ट्रेलियाको तटीय सहर नुलुबीमा बस्दै आएका गालरन गत आइतबार आफ्नो डुंगालाई किनारतिर लैजाँदै थिए । सोही बखत पछाडिपट्टिबाट गोहीले धावा बोलिदियो । उनका अनुसार त्यो गोही करिब आठ फुट लामो थियो । गालरनका अनुसार गोहीले पहिले उनको टाउको समातेर निमोठ्यो, पल्टायो अनि उनलाई पानी भित्र लैजान लाग्यो । अलिकति पनि ढिला नगरी उनी त्यससँग भिड्न थाले । मुक्काका मुक्का बर्साए । घटनास्थलबाट अस्पताल पुर्याइँदा गालरनको मुहार रगतमा डुबेको थियो तर जितको मुस्कान पनि सँगसँगै थियो । उनी आफूलाई बचाउन त सफल भए तर गोहीले दाँतले च्यापेर लछारपछार पारिदिँदा उनको टाउको, गर्दन र काँधमा गहिरो चोट लागेको छ । जहाँ कैयाँै टाँका लगाउनुपरेको चिकित्सकहरू बताउँछन् । ‘अलिकति पनि हताश भएको भए त्यसले मलाई पानीभित्र लगिसकेको हुन्थ्यो’, उनी सुनाउँछन्– ‘आखिरमा त्यसबाट फुत्किएर किनारमा आइछाडेँ ।’ उनले एजेन्सीलाई भने– ‘साँच्चै अति नै भाग्यशाली हुँ, नत्र बाँच्दैनथेँ । त्यो साह्रै खतरनाक गोही थियो ।’ सो प्रान्तका सरकारी अधिकारीहरू पनि योआनको कुरामा सही थप्छन्– ‘वास्तवमै उनी मृत्युको मुखबाट बचेर आएका हुन्, नत्र स्थिति निकै गम्भीर हुन सक्थ्यो ।’ स्थानीय बासिन्दाहरू विगत केही समयदेखि त्यो खतरनाक गोही उक्त इलाकामा देखिँदै आएको स्विकार्छन् ।
यद्यपि, अस्ट्रेलियामा सन् १९७० मै समुद्री गोहीलाई लोपोन्मुखप्राय: घोषणा गरिसकिएको छ । र, यसखाले घटनालाई अपवाद मात्र मानिन्छ । तर, उत्तरी प्रान्तको कथा भने अर्कै छ । अहिले यहाँ थुप्रै गोही रहेको अनुमान गरिएको छ । र, गोहीको घातक आक्रमणमा परेर मान्छे मरेका समाचार आइरहन्छन् । गत डिसेम्बरमा मात्र यही प्रान्तमा गोहीले एक बच्चालाई आफ्नो सिकार बनाएको घटना सार्वजनिक भएको थियो । त्यसको एक हप्ताअघि अर्की एक बालिका बेपत्ता भएकी थिइन् । त्यसको केही दिनपछि नै सो इलाकाको एक गोहीको पेटमा मान्छेको शरीरका टुक्रा पाइएको थियो । (एजेन्सी)
0 comments
Write Down Your Responses