रमिलाको अनुहारमा मीरा देख्छन् हरिवंश

१६ बैशाख, काठमाडौं । स्कूलमा पढ्दा किताब भनेपछि एलर्जी मान्ने हरिवंश आचार्यले अहिले स्वयं किताब लेख्नुभएको छ । ‘चिना हराएको मान्छे’ शीर्षकमा आफ्नो जिन्दगीको भोगाई र कथाव्यथा उतारेका हरिवंशले किताबमा सुखदुःखका दुवै पाटोलाई सरल ढंगले उतार्नुभएको छ । आइतबार किताव सार्वजनिक कार्यक्रममा उपस्थित सबैले हरिवंशको हाँसो र रमाइलोभन्दा उहाँको जीवनका दुखद पाटालाई बढी सम्झे ।haribansa-4
‘मेरो जीवन टेन्सनै टेन्सनमा बित्यो, म संसारकै सबैभन्दा अभागी र भाग्यमानी व्यक्ति पनि हो’ किताबको बारेमा बोल्दै हरिवंशले सम्झनुभयो-’सानो छँदा आमा गुमाउनुपर्यो, तर आमाको माया दिदीहरुबाट पाएँ । सानैमा बाबु गुमाएँ, तर छोराहरुले बाबुको जत्तिकै माया गर्छन् । मलाई सबैभन्दा बढी माया गर्ने, मैले सबैभन्दा बढी माया गर्ने पत्नी मीरा गुमाएँ, तर उनले जस्तै माया गर्ने रमिला भेट्टयाएँ ।’ हरिवंशले यसो भन्दा खचाखच भरिएको हल स्तब्ध भयो । मञ्चमा बसेकी रमिला पनि भावुक हुनुभयो । रमिलातिर हेर्दै हरिवंशले भन्नुभयो-’उनको अनुहारमा मीराको अनुहार देख्छु ।’
दुई वर्षअघि पत्नी मीराको निधनले मर्माहत भएका हरिवंशलाई त्यही क्षणमा पुस्तक लेख्ने मेसो मिलेको हो । शोक र पीडालाई अक्षरमा उतारेर उहाँले आत्मसन्तुष्टी लिने प्रयास गर्नुभयो । तर मीरा बिनाको जीवनले उहाँलाई डेढ वर्षसम्म उकुसमुकुस बनायो । अनि साथीभाइ र आफन्तले उहाँलाई मीराकै अर्को रुप रमिला भेट्टाइदिए ।’मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरें । कतिले मेरो आलोचना पनि गरे । तर एक्लोपनाको पीडा कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ’ हरिवंशले भन्नुभयो-’अल्कोहल नपिईकन निद्रा नलाग्ने अवस्थामा म पुगिसकेको थिएँ । त्यसैले मैले डिप्रेशन भएर मर्नुभन्दा दोस्रो बिहे रोजें ।’
मीरालाई अत्यन्तै माया गर्ने हरिवंशले उहाँलाई सधैं बचाईराख्ने वाचा गर्नुभएको छ । मीराकै नाममा बालबच्चाको हेरचाह गर्ने केन्द्र खोल्नुभएको छ । दोस्री पत्नी रमिला त्यो केन्द्रको अध्यक्ष हुनुहुन्छ । पुस्तक सार्वजनिक कार्यक्रममा उपस्थित मीराका भाइबुहारी र छोरातिर हेर्दै हरिवंशले भन्नुभयो-’म तिमीहरुलाई वचन दिन्छु, भौतिक शरीर नरहेपनि म तिमीहरुको दिदीलाई बचाइ राख्छु ।’ पुस्तकमा पनि हरिवंशले मीरालाई उसैगरी सम्झनुभएको छ । रमिला र मिराको प्रसँग कोट्याउनुभएको छ । ‘रमिलाले मलाई मीरा सम्झेर रुने स्वतन्त्रता दिएकी छिन् । मैले उनलाई विगत सम्झेर रुने स्वतन्त्रता दिएको छु । तर, उनी मलाई सम्झाउँदै भन्छिन् – म पहिले खुबै रोएँ । आँसु मात्र आयो, तर उनी फर्केर कहिल्यै आएनन् । जीवनको सबैभन्दा भयानक सत्य मृत्यु रहेछ । जसलाई स्वीकार्नै पर्छ । अब हामी उहाँहरुलाई असल मानिस भनेर सम्भिmरहन र सम्मान गरिरहन मात्र सक्छौं ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.