सरकारी विद्यालयमा भर्ना गर्न सोर्सफोर्स
१२ वैशाख, काठमाण्डौं । कुनै सरकारी विद्यालय विद्यार्थी अभावका कारण बन्द भएका छन् भने कुनैमा बालबालिका पढाउन सर्वसाधारणले सोर्सफोर्स नै लागउनुपर्ने भएको छ । राजधानीमा राम्रा भनेर चिनिएका केही सरकारी विद्यालयले प्रवेश परीक्षा लिएरमात्र विद्यार्थी भर्ना गर्न थालेपछि कमजोर विद्यार्थीलाई सरकारीमा पढाउन पनि सोर्सफोर्स लगाउनुपर्ने अवस्था आएको हो ।
काठमाण्डौंको ज्ञानोदय माविमा नयाँ भर्ना हुन आएका मध्ये ६० प्रतिशतले प्रवेश पाएनन । सो विद्यालयका प्रधानाध्यापक धनञ्जय शर्माले यस बर्ष विभिन्न कक्षाको भर्ना प्रवेश परीक्षामा सात सय सहभागी भए पनि दुई सय ८१ ज्नाले मात्र अवसर पाएको जानकारी दिए । ‘आउनेजतिलाई भर्ना गर्न सक्ने क्षमता छैन,’ शर्माले भने, ‘गुणस्तर कायम राख्न र स्रोत साधनका हिसाबले सबैलाई भर्ना गर्न सकिँदैन ।’
बानेश्वरको रत्नराज्यमा पनि उस्तै छ । सो विद्यालयमा पनि सामान्य विद्यार्थीलाई भर्ना पाउन कठिन छ । प्रधानाध्यापक गीता खरेलका अनुसार ३० चैतमा पहिलो प्रवेश परक्षिा लिएर भर्ना गरिएको छ भने अब १५ बैशाखमा अर्को प्रवेश परीक्षा लिने तयारीमा छौं । ‘राम्रो विद्यार्थी छानेर भर्ना गछौं,’ प्रधानाध्यापक खरेलले भनिन् ‘नौ कक्षासम्म दुईसय मात्र नयाँ भर्ना लिन्छौ ।’
सरकारले चिकित्सालगायतका महँगा विषय अध्ययन गर्न सरकारी विद्यालयबाट एसएलसी उत्तीर्णलाई छात्रवृत्ति दिने गरेकाले पनि आठ कक्षासम्म निजीमा पढेर नौ कक्षामा सरकारी विद्यालयमा धेरै विद्यार्थी आउने गरेको नयाँ पत्रिकामा खबर छ ।



0 comments
Write Down Your Responses