दिल्लीमा मन्त्री पिटिएपछि बंगालमा कम्युनिष्ट र कांग्रेसवीच झडप

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

२९ चैत, काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसहित चार मन्त्रीमाथि मंगलबार दिल्लीमा भएको हातपातको घटनालाई लिएर पश्चिम बंगालमा बनर्जीको पार्टी तृणमूल कांग्रेस र प्रतिपक्षी मार्क्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्तावीच झडप शुरु भएको छ । झडपका क्रममा बुधबार मार्क्सवादी कम्युनिष्ट पार्टीका दर्जनौं कार्यालयहरुमा तोडफोड गरिएको छ भने पूर्वमुख्यमन्त्री अशोक भट्टाचार्यसमेत सिलिगुडीमा पक्राउ परेका छन् । प्रदर्शनकारीहरुले आज पश्चिम बंगाल बन्दको घोषणा गरेका छन् ।
mamata_banerjee_20120326
मंगलबार कोलकातामा प्रहरी हिरासतभित्र माकपा समर्थित विद्यार्थी सुदीप्दो गुप्ताको मृत्युभएको विषयलाई लिएर दिल्लीको योजना आयोग भवन अगाडि मंगलबार बेलुका माकपाका विद्यार्थी कार्यकर्ताले मुख्यमन्त्री ममता बनर्जीसहित चारमन्त्रीमाथि घेराऊ गर्नुका साथै बंगालका वित्तमन्त्री अमित मित्रलाई पिटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विद्यार्थीको आक्रमणमा परेपछि अर्थमन्त्री पी चिदम्बरम र प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्ने कार्यक्रमसमेत रद्द गरी ब्यानर्जी कोलकाता फर्केर नर्सिङ होममा भर्ना भएको सञ्चार माध्यमले जनाएका छन् । मुख्यमन्त्री बनर्जीको टोली प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्न दिल्ली गएका बेला उनीहरुमाथि कम्युनिष्ट कार्यकर्ताले हातपात गरेका हुन् । उनीहरुले आफ्ना कार्यकर्ता सुदीप्दो गुप्ताको प्रहरी हिरासतमा भएको मृत्यबारे छानविन गर्न पश्चिम बंगाल सरकारसित माग गर्दै प्रदर्शन गरेका हुन् ।
कमीज च्यातिएको अवस्थामा अस्पताल भर्ना भएका वित्तमन्त्री अमितको छाती, कम्मर र खुट्टामा चोट लागेको छ । सामान्य घाइते भएका पञ्चायत मन्त्री र शहरी विकासमन्त्री पनि दिल्लीबाट कोलकाता फर्किएका छन् ।
सञ्चारमाध्यमले जनाएअनुसार योजना आयोग भवनअगाडि बनर्जीको टोली पुग्दा त्यहाँ विद्यार्थीहरुले प्रदर्शन गरिरहेका थिए । प्रहरीले बनर्जीलाई गाडीबाट नओर्लन र गाडी सिद्धै भवनभित्र लैजान भन्दाभन्दै मुख्यमन्त्री गाडीबाट ओर्लिएकी थिइन् । सार्वजनिकस्थलमा सुरक्षाकर्मी र पत्रकारलाई हप्काउने बानी परेकी बनर्जीले दिल्लीमा १० लाख समर्थक ल्याउन सक्ने बताएकी थिइन् । उनलाई घेराउ गरेर मन्त्रीमाथि कुटपिट भएपछि बनर्जीले त्यहाँ पहिल्यै प्रहरी किन तैनाथ गरिएन भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएकी छन् ।
माकपा मार्क्सवादीका नेता सीताराम येचुरीले आफ्ना कार्यकर्ता गुप्ताको हत्याको छानविन गर्न माग गरेका छन् । साथै उनले पश्चिम बंगालमा आफ्ना कार्यलयहरुमा म्यानर्जीको पार्टीका कार्यकर्ताले तोडफेड गर्नुका साथै दुईदर्नलाई घाइते बनाएको बताएका छन् ।
बंगालका मुख्यमन्त्री र मन्त्रीहरुमाथि भएको आक्रमणको प्रधानमन्त्रीदेखि पश्चिम बंगालका राज्यपालसम्मले निन्दा गरेका छन् । राज्यपाल एमके नारायननका अनुसार भारतीय लोकतन्त्रको इतिहासमा यसरी मुख्यमन्त्री र मन्त्रीमाथि हातपात हुनु इतिहासमै दुखद घटना हो । तर, राज्यपालले राजनीतिक वक्तव्यवाजी गरेको भन्दै कम्युनिष्टहरुले उनको आलोचना गरेका छन् । बनर्जीले शक्तिको दुरुपयोग गरेर बंगालमा आफूहरुमाथि आक्रमण गराएको र प्रहरीलाईसमेत कांग्रेस कार्यकर्ताजस्तै बनाइएको कम्युनिष्टहरुको आरोप छ । मंलगबार तृणमूल कांग्रेस र माकपाले सिलिगुढीमा निकालेको दुईतर्फी जुलुसमा सामुहिक झडप भएको थियो । झडपको घटना पहाडको दार्जीलिङसम्म फैलिएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.