मुम्बईमाथि बेङ्ग्लोरको रोमान्चक जितv
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा बेङ्ग्लोर रोयल च्यालेन्जर्सले मुम्बई इण्डियन्समाथि २ रनको रोमान्चक जित हात पारेको छ ।
बिहीबार राति घरेलु मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्ग्लोरले क्रिस गेलका अविजित ९२ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । ५८ बलको सामना गरेका म्यान अफ दि म्याच गेलले ५ छक्का र ११ चौका हानेका थिए ।
जवाफमा मैदान उत्रिएको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो । सुरुवातमा लरखराएको मुम्बईको पारी दिनेश कार्तिकले विस्फोटक व्याटिङ गर्दै सम्हालेका थिए । उनले ३७ बलमा ४ छक्का र ३ चौकाको मदतमा ६० रन बनाए । तर, अन्तिम ओभरमा विनयकुमारले कार्तिक र अम्बाति रायडुको विकेट लिएपछि मुम्बई दबावमा आयो ।
पाँचौं बलमा किरन पोलार्डले चौका हानेपछि मुम्बईको जितको सम्भावना बढ्यो । अन्तिम बलमा जितका लागि चार रन चाहियो । तर, विनयले १ रन मात्र दिएपछि बेङ्ग्लोर २ रनको रोमान्चक जित हात पार्न सफल भयो ।
प्रतियोगिता अन्तरगत आज राति पुने वारियर्स र सुनराइज हैदरावाद भिड्ने छन् ।
0 comments
Write Down Your Responses