राप्रपा चुनावः चन्दका छोराले ल्याए सर्वाधिक मत, थापापुत्र दोस्रो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकताको महाधिवेशनपछि पारित विधान बमोजिम निर्माण भएको 'राष्ट्रिय प्रजातन्त्र पार्टी' को केन्द्रीय सदस्यको निर्वाचनमा खुल्ला र महिलातर्फको मतगणना सम्पन्न भएको छ। केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको निर्वाचनमा नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले सबैभन्दा बढी एकहजार ४७९ मत र नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले एकहजार ४७१ मत ल्याएर विजयी भएका छन्। त्यस्तै खुल्लातर्फ विजयी हुने केन्द्रीय सदस्यहरूमा परशुराम खापुङ, विक्रम पाण्डे, सुमन मेहर श्रेष्ठ, भुवन पाठक, प्रेमबहादुर भण्डारी, गोविन्द विक्रम शाह, जगत गौचन, ध्रुवबहादुर प्रधान, बाबुराम पौडेल, वसन्तमानसिंह अधिकारी, वीरसिंह ठकुरी, हरिप्रसाद घिमिरे, रामहरि थापा र रामबहादुर थापा क्षेत्री छन्। त्यस्तै, भरत गिरी, अर्जुन राई, भरतप्रसाद पाठक, तोरणबहादुर गुरुङ, महेश्वर रोक्का, गिरीबहादुर केसी, कृष्णप्रताप मल्ल, किशोरबहादुर कार्की, कर्णबहादुर बुध, विष्णुविक्रम थापा, जनकबहादुर कार्की, राजेश गिरी, बलबहादुर केसी, डा गुरुप्रसाद रजौरिया, मिनबहादुर कुँवर, सुरेन्द्र केसी, हरिबहादुर विष्ट, रवीन्द्रप्रताप शाह र राजेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भए। निर्वाचनमा केन्द्रीय सदस्यमा खुल्लातर्फ ३५ स्थानका लागि ६३ जनाले प्रतिस्पर्धा गरेका थिए। निर्वाचित केन्द्रीय सदस्यमा महिलातर्फ सरोज शर्मा, प्रतिभा राणा, रोशन कार्की, बिन्दु पहाडी, नीना भेटवाल, मीना सुवेदी, पवित्रा जोशी, नानीमैया आचार्य, दुर्गा श्रेष्ठ र प्रतिभा क्षेत्री विजयी हुनुभएको छ। महिलातर्फ १० स्थानका लागि ३३ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए। केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचन भएका दलित, जनजाति, मधेसी, मुस्लिमको मतगणना नसकिएकाले भोलि बिहानदेखि मतगणना गरिने महाधिवेशन प्रचार समितिका सहसंयोजक किरण गिरीले बताए। निर्वाचनमा दलिततर्फ चार स्थानमा १७, मधेसीमा १० स्थानमा २९ र जनजातितर्फ १० स्थानमा २१ जनाको उम्मेदवारी परेको छ। एकता महाधिवेशनपछि सर्वसम्मतरूपमा सूर्यबहादुर थापा अध्यक्षमा निर्वाचित भए। एकता महाविधेशनपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), चुनाव चिह्न 'हलो' र पार्टी झण्डा पनि यसअघिकै रहने भएको छ । यही जेठ ३ गतेदेखि सुरु भएको महाधिवेशनमा पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको अध्यक्षमा श्री थापा रहनुका साथै त्यसको सदस्यमा पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनी छन्। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.