अब नयाँ पोसाकमा प्रहरी

काठमाडौं- पोसाक जुध्दा संगठनले गरेका काममा पनि सशस्त्र प्रहरीले जस पाउन थालेपछि नेपाल प्रहरीले कार्य क्षेत्रमा खटिँदा लगाउने पोसाक बदलेको छ।प्रहरीले भिड नियन्त्रण र कार्य क्षेत्रमा खटिँदा लगाउने निलो टाटेपाटे (चुस्ता) पोसाक सशस्त्र प्रहरी बलकै जस्तो देखिएपछि प्रधान कार्यालयले त्यसनिम्ति गाढा निलो रङको पोसाक लगाउने तयारी गरेको हो।

सशस्त्रसँग मिल्दो भएर झुक्किने समस्या आएपछि पोसाक फेर्‍यो प्रहरीले
सशस्त्रले मधुरो सेतो, कालो, खैरो र आकाशे रङ मिसिएको कपडालाई चुस्ताको रुपमा उपयोग गर्दै आएको छ। प्रहरीले उही प्रकृतिको चहकिलो गाढा र आकाशे रङको कपडालाई चुस्ताको रुपमा प्रयोग गर्दै आएको छ।

पहिलो चरणमा असोजबाट उपत्यकामा खटिनेले नयाँ पोसाक लगाउनेछन्। उपत्यकामा परीक्षणबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक संशोधन गरेर अन्य क्षेत्रमा प्रयोगमा ल्याउने प्रधान कार्यालय प्रबन्ध शाखाको योजना छ।

रात्रिकालीन सुरक्षामा खटिने प्रहरी उस्तै पोसाकले सशस्त्रजस्तै देखिँदा भिभिआइपी र भिआइपीबाट समेत 'बेलुका सडकमा सशस्त्र मात्रै किन, प्रहरी खोइ?' भन्दै प्रस्टीकरण लिने क्रम बढेको थियो। 'अहिलेको चुस्ता रातमा सशस्त्रजस्तै देखिँदा धेरै झुक्किए', प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीले नागरिकसँग भने, 'द्वन्द्वकालमा प्रयोगमा ल्याउँदा छान्दा फौजीजस्तै चयन गरे पनि अहिले त्यो सान्दर्भिक नदेखिएकाले फेर्ने निर्णय भएको हो।'

तीन वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको पालामै चुस्ता फेर्ने गृहकार्य सुरु भए पनि निर्णय हुन सकेको थिएन। उनीपछिका आइजिपी रविन्द्रप्रताप शाहको पालामा पनि निर्णय थाती रह्यो। प्रहरी र सशस्त्रको पोसाकमा धेरै झुक्किएको प्रतिक्रिया आएपछि अहिलेका प्रहरी प्रमुख कुवेर रानाले पोसाक फेर्ने निर्णय गरेका हुन्।

जानकार प्रहरीका अनुसार २०५१ मा सुरु भएको माओवादी द्वन्द्व नियन्त्रणमा प्रहरीको परिचालनपछि सैनिकको झैँ केमो ( वातावरणअनुसार लुक्न सघाउने) पोसाक प्रहरीमा पनि प्रयोगमा आएको थियो।

माओवादी द्वन्द्वमा प्रहरी परिचालन गर्ने निर्णयसँगै पोसाकसमेत फौजी बनाउन जोर्डनमा शान्ति मिसनमा खटिएर फर्किएका एक प्रहरी अधिकारीले अहिले प्रयोगमा आएको चुस्ताको सिफारिस गरेका थिए। अहिले प्रहरीले प्रयोग गर्ने चुस्ता जोर्डन प्रहरीकै जस्तो छ।

द्वन्द्व नियन्त्रणमा खटाउन २०५८ मा सशस्त्र प्रहरी बल गठनपछि पनि प्रहरीको पोसाक फेरिएन। त्यसयता सशस्त्र बल क्याम्पमै सीमित रहेकाले उस्तै हुँदा पनि समस्या थिएन। माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किएलगत्तै सशस्त्र पनि सहरी गस्ती र सुरक्षामा खटिन थालेपछि झुक्किने अवस्था आएको हो।

०४६ अघि खादी प्रयोग गर्ने प्रहरी पोसाक राजनीतिक परिर्वतनसँगै फेरिएको थियो। टिकाउ र लामो समयसम्म रङ नखुइलिने गुणयुक्त उक्त पोसाक प्रयोगको सुझाव आए पनि राजनीतिक आलोचना हुने डरले नीलो पोसाक राख्ने निर्णय भएको एक अधिकारीले जानकारी दिए।

'न्यून बजेटमा लामो टिकाउका लागि खादी उत्तम हुन्थ्यो', प्रधान कार्यालयका एक अधिकारीले भने, 'तर प्रहरी पुरानै राजनीतिक संस्कारमा फर्कियो भन्ने गलत सन्देश जान सक्ने भएकाले गाढा नीलो चयन गरियो।'

चुस्ता परिवर्तनका लागि प्रधान कार्यालयले ७० हजार मिटर कपडाको टेन्डर स्विकृत गरिसकेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.